देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए उच्चस्तरीय समितिले दियो राष्ट्रपति पौडेललाई उद्घाटनको निम्तो  

देशान्तर

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को  यही  वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनको  उद्घाटन गरी दिन  एनआरएनए उच्चस्तरीय समितिका सदस्यहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निम्तो दिएका छन्।  सोमबार राष्ट्रपति कार्यालयमा भेटेर उनीहरूले निम्तो दिएका हुन्।  

उक्त अवसरमा उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले महाधिवेशनका लागि तयारी अन्तिम चरणमा पुगेको बताइन्।  उनले झन्डै ३,२०० एनआरएनहरूले डेलिगेट बन्न निवेदन दिएको जनाइन्।  त्यस्तै समितिकी सदस्य सचिव रबिना थापाले डेलिगेटहरु काठमाडौँ आउने क्रम सुरु भई सकेको जानकारी दिइन्।

 उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सम्मानित सर्वोच्च अदालतको परमादेशबाट गठित एनआरएनए उच्चस्तरीय समितिले कानुनको सर्वोच्चताको सम्मान गर्दै महाधिवेशन आयोजना गर्न लागेको जनाए।  उनले महाधिवेशनको बारेमा भ्रम छर्ने काम भई रहेको भन्दै तोकिएको मितिमै महाधिवेशन हुने पनि जनाए।  

निमन्त्रणा पत्र ग्रहणपछि कुरा गर्दै राष्ट्रपति पौडेलले सर्वोच्च अदालतले दिएको परमादेशको मर्म र भावना अनुसार अधिवेशन गर्न सुझाव दिए । उनले सर्वोच्चको परमादेशको  जसरी पनि कार्यान्वयन हुनु पर्नेमा जोड दिँदै  कानुनी राज्यमा कानुन कार्यान्वयन गर्ने सन्दर्भमा सबै एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी रहेको पनि  बताए ।

वैशाख २० गते होटेल हायातमा हुने अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रपति पौडेलले आफू उपस्थित हुने प्रतिबद्धता जनाएको उच्चस्तरीय समिति सदस्य आचार्यले जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा उच्चस्तरीय समितिका  गुरुङ, आचार्य र थापासहित अभियन्ताहरू चिन्तामणि सापकोटा, बुद्धि सुवेदी, कुन्दन कार्की, दीपेश खत्री लगायत सहभागी थिए ।