देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूको विरोध

देशान्तर


काठमाडौँ । आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध प्रकट गरेका छन् ।


प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध शून्य समयमा सांसदहरूले आइतबार शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरे । उनीहरुले सरकारले वार्तामार्फत शिक्षकहरूको जायज मागको सम्बोधन गर्न एवं भर्ना र पठनपाठन सुरू गर्ने अवस्था गर्न जोडदार माग गरे ।

सांसद प्रकाश ज्वालाले आन्दोलनरत शिक्षकहरूको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरे । “आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनको सट्टा सरकार राज्य शक्तिको दुरूपयोग गर्दै आन्दोलनकारीमाथि दमन गर्दैछ । आन्दोलनमाथि सरकारी दमनको भत्र्सना गर्दछु”, सांसद ज्वालाले भने। उनले पत्रकारको सुरक्षाको सुनिश्चित गर्न माग गर्दै चिकित्सकको आन्दोलनमा समेत ध्यानार्कषण गराए ।

सांसद डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत शिक्षकहरूमाथि दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको आरोप लगाए । “हिजो शिक्षकहरूमाथि भएको दमनमाथि रास्वपा गम्भीर ध्यानार्कषण गराउन चाहन्छ”, सांसद अर्यालले भने । उनले आगामी बजेटले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

सांसद दिलेन्द्रप्रसाद बडूले सरकारलाई आन्दोलनरत पक्षहरूप्रति संवेदनशील, जिम्मेवार र संयमित बन्न सरकारसँग आग्रह गरे ।

यस्तै, सांसदहरू डिगबहादुर लिम्बू, नारायणप्रसाद आचार्य, देवप्रसाद तिमिल्सिना, नैनकला थापा, सांसद देवेन्द्र पौडेल, पूर्णबहादुर घर्तीले शिक्षकहरूको जायज मागप्रति एक्यबद्धता जाहेर गर्दै वार्तामार्फत समाधान खोज्नपर्नेमा जोड दिए ।