देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिक दलहरूभित्र आन्तरिक लोकतन्त्र छैन

देशान्तर

तीर्थ थापा

म २०३६ सालदेखि नै लोकतन्त्रका लागि राजनीतिमा लागेको व्यक्ति हुँ । ०२७ सालमा लमजुङ हाई स्कुलमा विद्यार्थी संगठनको अध्यक्षसमेत भए । कक्षा ८ मा पढ्दा नै राजनीतिमा सक्रिय भएँ । हुन त मेरो परिवार सबै आर्मीमा थिए । कांग्रेस भनेको अराजक तत्व हो भन्थे । परिवारका दाजुभाइ, बाउबाजे, इष्टमित्र सबै आर्मी भएकाले राजनीतितिर लगाव खासै थिएन । आर्मीले त्यसबेला कांग्रेस भनेको अन्तर्राष्ट्रिय तत्व हो भन्थ्यो । ‘तेरो घरमा कांग्रेस पसोस्’ भनेर गाली नै गर्थे । म फुच्चे थिएँ र नेवि संघमा बसेर काम गर्थें । यही सिलसिलामा ०३६ सालमा काठमाडौं आएको हुँ ।

त्यसपछि बिस्तारै कलाकारितामा सक्रिय भएँ । सिनेमातिर पनि लागेँ । टेलिभिजनतिर सक्रिय भएँ । सानोतिनो व्यवसाय गर्न भनेर कलाकारितातिर र सिनेमा निर्माणतिर लागेको हुँ । अलिकति पछाडि परेँ होला, ठाउँ नपाएर समस्या भयो । ०४६ सालको आन्दोलनमा सम्भवतः म कुनै पनि दिन आन्दोलनमा नगएको दिन थिएन । जनआन्दोलन ड्युटी नै जस्तो थियो । ०४६ सालमा महेन्द्रको सालिक तोड्नेदेखि लिएर धेरै काम गर्न भ्याइन्थ्यो ।

जब राजाबाट बहुदल घोषणा भयो त्यसको अघिल्लो दिन त्रिचन्द्र कलेजमा कलाकार अथवा हामीलाई लगेर थुनियो । कलाकार सडकमा उत्रिसकेपछि त्यो प्रत्यक्ष–अप्रत्यक्ष असर पर्ने नै भयो । ०६२/६३ को आन्दोलन यथार्थमा ०५८ सालदेखि भएको हो । ०५८ देखि निरन्तर कुनै न कुनै रूपबाट भएको आन्दोलनमा म सधैँ उपस्थित नै थिएँ । चाहे सडक आन्दोलन होस्, चाहे ट्रकमा थुनिएर किन नहोस्, सधैँ सक्रिय हुन्थेँ ।

त्यसपछि बिस्तारै मैले कलाकारहरूको समूह गठन गरेको हुँ । त्यसपछि हामी सबै जम्मा भएर जुलुस निकाल्न थालेका हौँ । नाच्दै, गीत गाउँदै आन्दोलनमा होमिएका थियौँ । समूह समूहमा सडक नाटक पनि गर्न थाल्यौँ । हामी जहाँ जम्मा हुन्थ्यौँ, त्यहाँ मान्छे सहभागी हुन थाले । नाटक हेर्न थाले । त्यसलाई प्रत्यक्ष रूपमा गिरिजाप्रसाद कोइरालाले पनि देखे । ०६२/६३ को आन्दोलनले हाम्रो कलाकारिताको प्रभावले आन्दोलन प्रभाकारी हुन्छ भनेर कांग्रेस पार्टीमा समाहित हुन आह्वान भयो । र हामी त्यही अनुसार अगाडि बढ्यौँ ।

बानेश्वरमा हामी सबै जम्मा हुन्थ्यौँ । त्यहीँबाट हामी योजना बनाउथ्यौँ । एक दिन गीत गाउने, अर्को दिन देउसीभैलो खेल्दै जाने गर्दथ्यौँ । विनासिजनमा देउसीभैलो खेल्दा सबैजना घरको छत छतबाट हेर्ने गर्थे । यस्ता विभिन्न क्रियाकलाप गर्दै कहिले रत्नपार्क, कहिले सहिदगेटमा, कहिले वसन्तपुरमा, कहिले सिंहदरबारमा कालोपट्टी बाँधेर बस्यौँ । यसरी कलाकारहरू आन्दोलनमा जान थालेपछि त्यसको प्रभाव बढ्दै गयो । प्रभावकारी हुँदै गयो । मिडियाले राम्रो कभर गरे । प्रत्येक दिन हामी समाचारमा आएकै हुन्थ्यौँ । नआएको कुनै दिन हुँदैन थियो ।

माओवादीको प्रभाव पनि थियो त्यसबेला । त्यसमाथि म आर्मी परिवारको मान्छे भनेपछि त माओवादीको दुस्मन नै भइन्थ्यो । जिल्लामा एक दिनको घटना हो, आमाले तँ घरको माथि नसुत्, बारीको कुनामा ओछ्यान लगाइदिन्छु त्यहीँ गएर सुत् भन्नुभयो । रातभरि ओहोरदोहोर गर्न, पानी माग्न के गर्ने भनेर तनाव हुन्थ्यो । त्यही भएर बारीको पाटामा सुत्नुपरेको थियो । त्यो घटना कहिल्यै भुल्न सकिँदैन ।

मलाई अहिले दुःख लाग्छ । अहिलेको अवस्था कस्तो भयो भने व्यक्तिकेन्द्रित कुरा भयो । म कसरी बन्ने भन्नेतिर सबैको ध्यान गएको छ । हाल स्वतन्त्र पार्टी र बालेनलाई भोट जानुको कारण त्यही वितृष्णा हो । म पार्टी सभापति शेरबहादुर देउवालाई सम्मान गर्छु । तर पार्टीमा एउटै अनुहार देखिइरहनु दुर्भाग्यपूर्ण छ ।

पहिला बाउबाजेका पालामा दरबार बाहिर कुर्ने गरिन्थ्यो । कतिबेला बार्दलीमा आए, को–को आएका थिए भनेर हेर्ने गरिन्थ्यो । आज पनि राजनीतिको विकसित अवस्था त्यही छ । अझै पनि सामन्तवादी प्रथा कायम छ । हामीले हाम्रा नेताहरू सजिलै भेट्न पाउँदैनौँ । हाम्रो कुरा सुनिँदैनन । कांग्रेसले आजसम्म देशका सबै परिवर्तनको नेतृत्व गरेको छ । हरेक पक्षको न्यायिक परिवर्तन कांग्रेसले नै गरेको हो । विभिन्न आयोग गठन गर्ने, संविधान निर्माण गर्नेदेखि विकासका काममा कांग्रेसको भूमिका उल्लेख्य छ । तर नेताहरूको चरित्र परिवर्तन हुन सकेको छैन ।

दुःखका साथ भन्नुपर्छ लोकतान्त्रिक सांस्कृतिक अभियान गर्छु भनेर प्रयास गर्दा हामीलाई सहयोग नै भएन । कांग्रेसको अभियान वा लोकतन्त्रको मर्म जनतालाई गीत, कविता, चित्रबाट गराउँछु भन्दा पनि सहयोग प्राप्त भएन ।

त्यसैले हाम्रै क्रियाकलाप सुधार गर्नुपर्ने देखिन्छ । अरू केही पनि होइन । लोकतन्त्रले परिवर्तन ल्याएको छ, विकास भएको छ । मानिसले स्वतन्त्रपूर्वक बोल्न पाएका छन । यहाँ सभापतिलाई गाली गर्न पाइन्छ, निर्धक्कसँग आफ्ना कुरा भन्न पाइन्छ । तर सिस्टम परिवर्तन भएन । पञ्चायतले सिकाएको कुरा नै गरिरहेका छौँ ।

बहुदलीय शासन पनि ठिक छैन भनेर गणतन्त्र ल्याएका हौँ । तर आज पनि हामी कुर्नैपर्छ, हाम्रा कुरा सुनिँदैनन । संस्थाले भनेको कुरा सुनिँदैन । मैले चलचित्र क्षेत्रमा काम गरंँ । सांस्कृतिक क्षेत्रमा छु । मैले भनेको, मेरो संस्थाले भनेको मान्छे कहीँ पनि नियुक्ति गर्न पाइँदैन । मैले सजिलोसँग गगन थापा पनि भेट्न पाउँदिनँ । विश्वप्रकाश शर्मालाई भेट्न पाउँदिनँ । यस्तो विडम्बना छ, हाम्रो अवस्था ।

शेरबहादुर देउवालाई भेट्न लाइन बसेर कुर्नपर्छ । विरक्त लाग्दो अवस्था छ । तर जे काममा लागेका छौँ, त्यसलाई छाड्न हुँदैन । आफूले नपाए पनि मेरो पिँढीले पाउँछ भनेर सक्रिय भइरहनुपर्छ । विकृति छ, तर त्यसलाई हटाउन हामी नै लाग्नुपर्छ । सबैभन्दा ठूलो कुरा संस्थागत हुनुप¥यो, व्यक्तिगत निर्णय हुनुभएन । सम्बन्धित संस्था वा क्षेत्रको सल्लाह सुझावलाई लिएर निर्णय गर्नुपर्छ ।

सम्बन्धित संस्थाका मानिसको कुरालाई संस्थागत विचारलाई सम्मान गर्नुपर्ने परिपाटीको विकास गर्नुपर्छ । तब मात्र लोकतन्त्रको स्थायित्व, गणतन्त्रको आवश्यकता र पहिचान स्पष्ट हुन्छ ।