नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले काश्मिरको पहलगाममा वैशाख १० गते (अप्रिल २२) भएका आतङ्कवादी हमलाको निन्दा गरेका छन्। उनले निर्दोष सर्वसाधारण नागरिकमाथि गरिएको यस क्रूर आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना र श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
सामाजिक सञ्जालमार्फत डा. कोइरालाले दुःख र पीडाको यस घडीमा भारत सरकार, भारतीय जनता र उक्त हमलामा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेका परिवारप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गरेका छन्। उनले यस जघन्य अपराधका दोषीहरूलाई तत्काल न्यायको कठघरामा ल्याउन माग गरेका छन्।
उनले आतङ्कवादका सबै स्वरूप र प्रकटिहरूको स्पष्ट र कठोर शब्दमा निन्दा गर्दै, जहाँ र जसले जुनसुकै उद्देश्यका लागि गरे पनि आतङ्कवाद कहिल्यै स्वीकार्य हुन नसक्ने बताए।
“दक्षिण एसिया लामो समयदेखि आतङ्कवाद, विशेषगरी सीमा पारका आतङ्कवादी गतिविधिहरूको सबैभन्दा ठूलो सिकार बनेको छ,” उनले उल्लेख गरे। “आतङ्कवादले क्षेत्रीय शान्ति, सुरक्षा र समृद्धिलाई गम्भीर चुनौती दिँदै आएको छ र यसले दक्षिण एसियाको वास्तविक सम्भावनालाई निकै पछि धकेलेको छ।”
डा. कोइरालाले शान्ति, स्थायित्व र समृद्धिको लागि आतङ्कवादविरुद्ध संयुक्त प्रयासको आवश्यकता रहेकोमा जोड दिएका छन्।
प्रतिक्रिया