नेपाल सुपर लिग एनएसएलमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले उपाधि रक्षा गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा ललितपुरले पहिलो पटक फाइनल पुगेको पोखरा थन्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरका लागि इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे भने पोखराका लागि सुदिल राईले एक गोल फर्काएका थिए।
खेलको पहिलो हाफमा दुवै टोली आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक मोड ४२ औँ मिनेटमा आयो। ललितपुरका लागि मनोज राईले गरेको क्रसमा इमोह इजेकेलले उत्कृष्ट हेडिङ गर्दै गोल गरे। पोखराका डिफेन्डर र गोलकिपरबीचको असमझदारीका कारण ललितपुरले अग्रता लिएको हो।दोस्रो हाफको सुरुआतमा पनि दुवै टोलीले आक्रमणमै जोड दिएका थिए। ६३ औँ मिनेटमा पोखराका सुदिल राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
पदम भट्टराईको क्रसमा स्टेफेन विनोङले हेड गरेका थिए, जसलाई ललितपुरका किपर जेफ्री बाल्टुसले पहिलो प्रयासमा रोक्न सकेनन्। बल नजिकै रहेका सुदिलले रिबाउण्डमा सजिलै गोल गरे।तर, बराबरीको खुसी धेरै समय टिक्न सकेन।
७४ औँ मिनेटमा ललितपुरका पापा इबोउ केबेले पुनः ललितपुरलाई २-१ अग्रता दिलाए। पोखराका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउँदै इमोह इजेकेलले दिएको पासमा केबेले बल नियन्त्रण गर्दै सानदार फिनिश गरे।खेलको ८० औँ मिनेटतिर दुबै टोलीका खेलाडीबीच सामान्य झडप समेत भयो, जसपछि रेफ्री राम दशनले अवस्थालाई नियन्त्रणमा ल्याए। ललितपुरका इमोह इजेकेल र आदित्य शाक्यले पहेँलो कार्ड पाए भने पोखराका जोए आएडुले पनि पहिलो हाफमै कार्ड देखेका थिए।
खेलको अन्त्यतिर पोखराका गोलकर्ता सुदिल राई घाइते भई स्ट्रेचरमा मैदान बाहिरिए। उनको स्थानमा निशान लिम्बु मैदानमा प्रवेश गरे। दोस्रो हाफमा ७ मिनेट इन्जुरी समय थपिएको थियो तर त्यस अवधिमा पोखराले बराबरी गोल फर्काउन सकेन र अन्ततः पहिलो पटक फाइनल पुगेर उप विजेतामा चित्त बुझायो।उपाधि विजेता ललितपुरले ८० लाख पुरस्कार पाउँदा पोखराले ३५ लाख पाएको छ ।
प्रतिक्रिया