नुवाकोटको बिदुरमा रसुवा, धादिङ र नुवाकोट जिल्लाका सुरक्षा समितिहरूको संयुक्त बैठक सम्पन्न भएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहलमा आयोजित बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरू तथा सरोकारवाला सहभागी भएका थिए।
बैठकमा बागमती प्रदेश सरकारका कानुनमन्त्री सुरजचन्द्र लामिछाने, मन्त्रालयका सचिव कृष्णबहादुर शाही, रसुवाका प्रजिअ अर्जुन पौडेल, धादिङका प्रजिअ सुमन घिमिरे, नुवाकोटका प्रजिअ शशिधर घिमिरेसहित जिल्ला स्तरका सुरक्षासम्बन्धी निकायका प्रमुखहरूको उपस्थिति थियो।
बैठकमा सहभागी प्रजिअहरूले आ-आफ्ना जिल्लामा देखिएका मुख्य सुरक्षा चुनौतीहरूबारे जानकारी गराएका थिए। विपद् व्यवस्थापन, लागुऔषध समस्या, सडक दुर्घटना, साइबर अपराध, आत्महत्या र लैंगिक हिंसाका घटनाहरू मुख्य चुनौतीका रूपमा उल्लेख गरियो।
सुरक्षा निकाय प्रमुखहरूले पूर्वाधार अभाव, विकास निर्माणमा देखिएका अवरोध तथा गौरवका आयोजना कार्यान्वयनमा देखिएका विवादबारे समेत जानकारी गराएका थिए।
कानुनमन्त्री लामिछानेले प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र सुरक्षा निकायको सबलीकरणका लागि आवश्यक पहल गरिरहेको बताए। उनले जनसेवालाई केन्द्रमा राखी कार्यसम्पादन गर्न निर्देशन दिँदै, खुला कारागारको अवस्थाबारे जानकारी लिएका थिए। साथै, कैदीबन्दीको जीवनस्तर उकास्न लघु उद्यम कार्यक्रम सञ्चालन भइरहेको जानकारीसमेत दिए।
प्रतिक्रिया