–सुजाता कोइराला
हाम्रो देशको अनुहार अरूले हेर्ने वा हाम्रो वास्तविक पहिचान खुट्याउने भनेको परराष्ट्र नीतिबाट नै हो । कुनै पनि देशको परराष्ट्र नीति त्यो देशको प्राथमिक राष्ट्रिय स्वार्थ के हो भन्ने कुराका केही आधारभूत सिद्धान्तमा केन्द्रित रहेर बनाइएको हुन्छ । हाम्रो आधारभूत सिद्धान्त राष्ट्रको सार्वभौमिकताको रक्षा, भौगोलिक अखण्डता, स्वतन्त्रता, नेपाल र नेपाली जनताको आर्थिक विकासलाई प्रोत्साहन गरी समुन्नत नेपाल निर्माण गर्नु हो । सँगसँगै विश्व शान्ति, सद्भाव र सुरक्षामा योगदान दिनु हो । सन् १९४७ को मार्च–अप्रिलमा दिल्लीमा आयोजित पहिलो एसियाली सम्बन्ध सम्मेलनमा सहभागी भई नेपालले देखाएको सक्रिय सहभागिताले राष्ट्रको स्वतन्त्र र बलियो पहिचान स्थापना गर्न सफलता मिलेको थियो ।
साथै तेस्रो विश्वका राष्ट्रहरू, नवोदित राष्ट्रहरू र गरिब तथा विकासोन्मुख राष्ट्रहरूले आफ्नो विश्वव्यापी परिचय दिने सिलसिलामा १९५५ को अप्रिल महिनामा इन्डोनेसियाको वाङडुङमा आयोजित पहिलो एसिया अफ्रिकाका राष्ट्रहरूको सम्मेलनमा सहभागी भई नेपालले आफ्नो शान्तिप्रतिको वचनबद्धता र विश्वका सबै राष्ट्रहरूसँग समानता र आपसी हितका आधारमा सम्बन्ध बढाउने आकांक्षालाई प्रक्षेपण गरेको थियो । सोही वर्ष नेपाललाई संयुक्त राष्ट्रसंघमा सदस्यता प्राप्त भयो । यसैबीच नेपालले बेलायत, भारत, अमेरिका र फ्रान्ससँग जर्मनीलगायत रहेको कूटनीतिक सम्बन्धको दायरालाई विस्तार गरी चीन र रुसजस्ता ठूला राष्ट्र तथा जापान, इजरायलजस्ता राष्ट्रसँग दौत्य सम्बन्ध स्थापना गरिसकेको थियो । १९६० मा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा भएको सहभागिता सो समयको परिस्थितिमा सर्वोच्च प्रतिनिधित्व थियो ।
पञ्चशीलका सिद्धान्तमा आधारित भएको असंलग्नताको आन्दोलन सुरु भएदेखि नै नेपालले सोहीअनुरूपको विदेश नीतिलाई मान्दै आएको छ । इतिहासको विभिन्न कालखण्डमा कतिपय देश कोही भूगोलबाट नै विलीन भए, कोही टुक्रा–टुक्रा भए, कोही अर्को देश वा साम्राज्यको उपनिवेश भए, तर नेपालको इतिहास सधैँ स्वतन्त्र रह्यो । नेपालका बाइसे÷चौबिसे राज्यहरू एकीकरण गरेर आधुनिक नेपाल निर्माण गरेपछि पृथ्वीनारायण शाहले ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ भनेबाट पनि हाम्रो त्यो बेलादेखिकै अन्तर्राष्ट्रिय सम्बन्ध तथा भौगोलिक अवस्थाको संकेत गर्दछ ।
आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दिव्योपदेशमार्फत नेपालको भूरणनीतिक वास्तविकतालाई दृष्टिगत गर्दै हामीले स्वतन्त्र र सन्तुलित विदेश नीति अपनाउनुपर्छ भन्ने सन्देश दिएका थिए । पृथ्वीनारायण शाहले हाम्रा दुई छिमेकी मुलुकहरू भारत र चीनबीच सन्तुलित र सुमधुर सम्बन्ध कायम हुनुपर्छ भन्ने मान्यता स्थापित गरे पनि युरोपियन मिसिनारिजहरू खारेज गरे तथा क्रिस्चियन पादरीहरूलाई देश निकाला गरेको घटनाबाट त्यो बेला हाम्रो कूटनीतिक सम्बन्ध पश्चिमा देशहरूसँग सन्तुलित नभएको महसुस गर्न सकिन्छ । त्यसैगरी, त्यसपछिका शाहवंशीय उत्तराधिकारीहरू तथा अरू शासकहरूले नेपालको स्वतन्त्र र असंलग्न छविलाई सन्तुलन मिलाउन नसक्दा नेपाल सन् १७९२मा तिब्बत तथा सन् १८१४ मा ब्रिटिस इन्डिया कम्पनीसँग युद्धमा होमिनुपयो । फलस्वरूप सन् १८१६मा भएको सुगौली सन्धिपश्चात् नेपालले धेरै आफ्नो भूमि गुमाउनुप¥यो र बाह्य सम्बन्ध पनि ब्रिटिस–इन्डियासँग केन्द्रित बन्न पुग्यो । त्यसैगरी सन् १८४६ को कोतपर्वपश्चात् जंगबहादुर राणाको उदय भइसकेपछि उनले तत्कालीन ब्रिटिस साम्राज्यकेन्द्रित विदेश नीतिलाई महत्व दिए, जसले गर्दा नेपाल अरू बाँकी विश्वबाट करिब–करिब एक्लियो ।
सन् १९५१ मा जब १०४ वर्ष पुरानो राणाशासनको अन्त्य भयो, तब नेपाललाई नयाँ धारबाट विदेश नीति तर्जुमा गर्ने ढोका खुल्यो । तर राजा त्रिभुवनको शासनकालमा हाम्रो आन्तरिक तथा बाह्य सम्बन्धमा भारतको धेरै प्रभाव रह्यो । तत्कालीन भारतीय राजदूत नेपालको मन्त्रिपरिषद् बैठकमै सहभागी हुने अनि भारतबाट आएका आइसियम अधिकारी गोविन्दनारायण त राजा त्रिभुवनको सचिवको भूमिकामा खटिएका थिए ।
नेपालले पालना गर्दै आएको परराष्ट्र/विदेश नीतिलाई निरन्तरता दिनुपर्छ । परराष्ट्र नीति निरन्तरता र परिवर्तनको सम्मिश्रण भएका कारण अन्य नीतिजस्तो छिटो छिटो र ठूलो उथलपुथल हुने गरी परिवर्तन हुँदैन । भौगोलिक अवस्थिति, सामरिक महत्व, सांस्कृतिक, आर्थिक, धार्मिक, राजनीतिक, रोजगारी, सूचना प्रविधि हरेक हिसाबले परराष्ट्र नीतिलाई प्रभाव पारेको हुन्छ ।
नेपालले विदेश नीतिको परिप्रेक्ष्यमा धेरै सफलता प्राप्त गरे पनि विदेशनीतिको अहिलेको सबभन्दा ठूलो चुनौती के हो भने अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि जसरी खस्किँदै गइरहेको छ, त्यसमा कसरी सुधार ल्याउने ? नेपालले संविधानसभामार्फत जारी गरेको संविधानअनुसार नेपाल सही बाटोमा जान्छ कि जाँदैन ? शान्तिप्रक्रियाले निश्चित दिशानिर्देश र जनआकांक्षाअनुरूप आर्थिक रूपान्तरणको दिशा समात्छ वा दिशाविहीन हुन्छ भनेर विश्व समुदायले हेरिरहेको छ ।
तर नेपाल एउटा यस्तो देश हो, जसले भारत र चीनजस्ता विश्वका शक्तिशाली दुई राष्ट्रहरूबीचमा रहेर आफ्नो सार्वभौमसत्तालाई अक्षुण्ण राख्न सफल हुँदै आएको छ । विगतका उपलब्धि र पृष्ठभूमिलाई केलाउने हो भने यो कुरा स्पष्ट हुन्छ कि नेपालको विश्वमा आफ्नै सान, पहिचान र नाम पनि छ ।
हाम्रो विदेश नीतिको सबभन्दा सबल पक्ष के हो भने हाम्रो कूटनीतिक सम्बन्ध विश्वको हरेक देशसित सुमधुर छ । यसको फाइदा लिँदै हामीले आर्थिक कूटनीतिको एजेन्डालाई द्रुतगतिले अगाडि बढाउनुपर्छ । आजको युग आर्थिक कूटनीतिको युग हो । म व्यक्तिगत रूपले ‘मल्टिपोलर’ विश्व शक्ति सन्तुलनको सिद्धान्तमा विश्वास गर्छु ।
बीपीबाबाको परराष्ट्र नीति
हाम्रो इतिहासलाई फर्केर हेर्दा अन्तर्राष्ट्रिय समाजवादका मूलभूत मान्यताबाट निर्देशित तथा बेलायती साम्राज्यका विरुद्ध महात्मा गान्धीले सञ्चालन गरेको भारत छोडो आन्दोलनमा सहभागी बीपीबाबाभन्दा अगाडि नेपालले एउटा स्वतन्त्र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सकेको थिएन ।
देशमा २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनपछि नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त ग¥यो । बीपीबाबाले अल्पकालीन असरहरूलाई धेरै महत्व नदिएर दीर्घकालीन रूपमा अर्थ राख्ने गरी नेपालको प्रतिष्ठा बढाउने र देशको आर्थिक र प्राविधिक विकासका लागि सहयोग हुने परराष्ट्र नीति अंगीकार गर्न थाल्नुभयो । उहाँले नेपालले कुनै सैनिक गुटमा नलाग्ने र तटस्थ रहने नीति लिनुभएको थियो । नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो भनेर विश्व समुदायलाई सन्देश दिनुभयो र केही साहसिक निर्णयहरू लिनुभयो ।
हाम्रा दुई विशाल छिमेकी मुलुकहरूले त्यो बेला इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका थिएनन् तर उनीहरूभन्दा अगाडि नै बीपी बाबाले इजरायलसँग दौत्य सम्बन्ध कायम गरेर एउटा निर्णय लिन सक्ने स्वतन्त्र राष्ट्रको रूपमा नेपाललाई चिनाउनुभयो । सो समयमा उहाँले इजरायलको औपचारिक भ्रमण गरी नेपालले इजरायलको विकास अनुभवबाट पाठ सिक्न चाहेको कुरा अवगत गराउनुभयो । यसको फलस्वरूप दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानको बलियो आधार र द्विपक्षीय सहयोगको ढोका खुल्यो । त्यसैगरी, त्यो समयमा पाकिस्तानसँग पनि कूटनीतिक सम्बन्ध कायम गर्नुभयो, जुन त्यो बेला निकै साहसिक निर्णय थियो । हाम्रा छिमेकी मुलुकहरू भारत र चीन तथा अमेरिकालगायत युरोपेली देशहरूसँग सम्मानजनक विश्वासका साथ सन्तुलित सम्बन्ध राख्नुपर्छ भन्ने मान्यताअनुरूप बीपीबाबाले विदेश नीति अगाडि बढाउनुभयो ।
उहाँले संयुक्त राष्ट्रसंघको महासभामा बोल्ने क्रममा राष्ट्रसंघमा साना राष्ट्रको भूमिका छ भनेर नेपालको उपस्थितिलाई संसारभर फैलाउनुभयो । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनले राष्ट्रसंघमा स्थान पाउनुपर्ने भनाइ राखेर उत्तरी छिमेकी मुलुकसँग नयाँ र अटुट सम्बन्ध स्थापित गर्नुभयो । भारतसँग पनि उहाँको राम्रो सम्बन्ध छँदै थियो ।
बीपीबाबाकै पथमा सानोबुबा
सानोबुबाले बीपीबाबाकै विदेश नीति कार्यान्वयन गर्नुभयो र सबै देशसँग स्वतन्त्र रूपमा सम्बन्ध तथा सहकार्य अगाडि बढाउनुभयो । बीपीबाबाले विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा परराष्ट्र नीतिको प्रतिपादन गर्नुभयो तर उहाँले सरकार धेरै समयसम्म चलाउन पाउनुभएन तर सानोबुबाले धेरै समय सरकारको नेतृत्व गर्नुभयो र बीपीबाबाको नीति कार्यान्वयन गर्नुभयो । तसर्थ सानोबुबाले अंगीकार गरेको नीति समयानुकूल केही परिमार्जित गर्नुभएको थियो, त्यो एउटा गतिशील पार्टीमा स्वाभाविक नै हो । बीपीबाबाले सुरु गरेको परराष्ट्र नीतिलाई सानोबुबाले अझ चम्किलो बनाउनुभयो । परराष्ट्र नीति अझ बलियो र धारिलो बनाउनु अहिले झन् जरुरी छ । बलियो घरबार परराष्ट्र नीतिको मूल आधार हुनुपर्छ । अर्थात् नेपाल र नेपाली जनताको सर्वोत्तम हितका लागि सबै राजनीतिक दलको परराष्ट्र मामिलाबारे स्पष्ट र प्रमुख विषयमा एकीकृत धारणा आउनुपर्छ ।
ग्रान्ड डिजाइन
चाहे राजनीतिक विकास होस् वा परराष्ट्र नीति विषयको तात्विक मूलनीतिमै किन नहोस्, सानोबुबाले एउटा शब्द भन्नुहुन्थ्यो, ‘ग्रान्ड डिजाइन’ । नेपालको भौगोलिक अवस्थितिले गर्दा यहाँ धेरै राष्ट्रका अदृश्य स्वार्थहरू छन् । ती देशले उनीहरूको स्वार्थअनुकूल हुने गरी यहाँ विभिन्न नियोजित कदम उठाइरहेका हुन्छन् । तसर्थ यो देश बारम्बार ग्रान्ड डिजाइनमा परिरहेको छ । महाभारतको एउटा प्रसंगमा द्रोणाचार्यले निर्देशित चक्रव्यूह, जसमा भित्र पस्न सक्ने र निस्कने क्षमता केवल श्रीकृष्ण र अर्जुनमा थियो । अर्जुनपुत्र अभिमन्यु केवल भित्र पस्न सक्थे, तर निस्कन सक्दैनथे । नेपालभित्र पनि विभिन्न शक्तिराष्ट्रहरूले उनीहरूको स्वार्थकेन्द्रित चक्रव्यूह बिछ्याइरहेका हुन्छन् । त्यो बुझ्ने क्षमता केवल सानोबुबामा थियो । त्यो बुझेर नै उहाँले देशलाई त्यो संकटको भूमरीबाट बाहिर निकाल्नुभयो । तसर्थ मलाई के लाग्छ भने हाम्रो राजनीति तथा कूटनीतिमा अभिमन्युको संख्या धेरै छ, तर श्रीकृष्ण र अर्जुनको अभाव छ ।
नेपाललाई गृहयुद्धमा फसाउने, जातीय द्वन्द्व बढाउने, यो देशलाई विखण्डन गरेर एउटा अस्थिर र क्रीडास्थल बनाउने जुन ‘ग्रान्ड डिजाइन’ भएको थियो, त्यसलाई सानोबुबाले समयमै पहिचान गरेर तत्कालीन माओवादीसँग शान्ति सम्झौता गरी देशलाई एउटा ठूलो संकटबाट बचाउनुभयो । नेपाललाई जातीय द्वन्द्वमा अल्झाउने षड्यन्त्रलाई सानोबुबाको नेतृत्वमा शान्ति सम्झौता तथा अन्तरिम संविधानमार्फत संविधानसभाको निर्वाचन भयो । दोस्रोपटक भएको संविधानसभाले नयाँ संविधान जारी गरी देशमा एउटा स्थिरताको वातावरण सिर्जना भई विकासको गतिमा अगाडि बढेको थियो । संविधान बनेपछि विदेशीको प्रयास असफल भयो । कुनै पनि देशलाई द्वन्द्वमा अल्झाउने भनेको जातीय र धार्मिक मुद्दाहरू नै हुन् । जुन मानिसको भावनासँग जोडिएको हुन्छ, यस्ता क्रियाकलापबाट हामी आमनेपाली नागरिक सचेत भई धार्मिक सद्भाव कायम गरेर अगाडि बढ्नुपर्छ । तसर्थ शासकले यस्ता कुरामा संवेदनशील हुनुपर्छ ।
सरकारपिच्छे फरक नीति
हाम्रो परराष्ट्र नीति सञ्चालनको मुख्य समस्या भनेको अस्थिर सरकार र व्यक्तिपिच्छेका फरक–फरक कार्यदिशा हुनु हो । २०५१ सालपछि देशमा स्थिर सरकार नहुँदा बारम्बार सरकार परिवर्तन भए । वर्षैपिच्छे मन्त्री परिवर्तन र नयाँ मन्त्री आउनासाथ नयाँ तरिका जुन संस्थागत नभएर व्यक्तिगत लहडमा निर्देशित हुँदा हाम्रो परराष्ट्र संरचना एउटा नीतिविहीन, दिशाविहीन तथा गतिविहीन हुन पुग्यो ।
अरू देशहरूमा व्यक्ति को आउँछ, को जान्छ, त्यसले विदेश नीतिमा तात्विक फरक पार्दैन किनकि कुनै पनि सरकार अविच्छिन्न निरन्तरताको प्रतीक हो । तर हामीकहाँ संस्थागत संरचना र पद्धति कमजोर हुँदा हामी अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग प्रस्तुत हुन सकेका छैनौँ । हामीहरूले यथाशक्य छिटो संस्थागत प्रणालीको थिति बसाल्नुपर्छ । हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उद्देश्य र योजनाहरू बनाएर संस्थागत रूपमा अगाडि जानुपर्दछ ताकि जुन व्यक्ति वा सरकार आए पनि सोही उद्देश्य प्राप्तिमा लाग्ने वातावरण र प्रावधान होस् । त्यसका लागि यथाशक्य छिटो सर्वदलीय र सर्वपक्षीय सहमति कायम गरेर एउटा विज्ञ समितिमार्फत साझा नीति बनाएर कार्यान्वयन गर्नुपर्छ ।
(पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुवा’ पुस्तकको अंश ।)
प्रतिक्रिया