काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन उत्कर्षमा पुगिसकेको भन्दै अब यसलाई निर्णायक बनाउन निजी विद्यालय पनि बन्द गरिदिएर आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउनसमेत शिक्षक–कर्मचारीलाई आग्रह गरेको छ । ‘शैक्षिक आम हड्तालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरुसमेत बन्द गरी साथ दिन सम्बन्धित सबै मित्रहरुमा अनुरोध छ,’– विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनको अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिकभ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महासंघले भनेको छ । महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुनसमेत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया