काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा एक वर्षको अवधिमा कच्चा पेट्रोलियम पदार्थको मूल्य १५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०८० फागुुनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको प्रतिब्यारल ८३.९५ अमेरिकी डलर रहेकामा चालु आवको फागुन मसान्तमा १५.६४ प्रतिशतले घटेर ७०.८२ अमेरिकी डलरमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । निगमका अनुसार ०८० वैशाख ३ मा प्रतिलिटर १७८ रुपैयाँ रहेको पेट्रोलको मूल्य एक वर्षको अवधिमा लिटरमा १८ रुपैयाँले मूल्य घटेर १६० रुपैयाँमा झरेको छ ।
यस्तै गत वैशाखमा प्रतिलिटर १६१ रुपियाँ रहेको डिजेलको मूल्य एक वर्षको अवधिमा लिटरमा १५ रुपैयाँले घटेर १४६ रुपैयाँमा झरेको निगमले जनाएको छ ।
यस्तै गत वर्ष प्रतिलिटर १३७ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य एक वर्षको अवधिमा लिटरमा १६ रुपैयाँले घटेर १२५ रुपैयाँमा झरेको छ । एक वर्षको अवधिमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटे पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेको छ ।
निगमका अनुसार एक वर्षको अवधिमा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ११० रुपियाँले बढेर एक हजार ९१० रुपियाँमा पुगेको छ । भारतमा ग्यासको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रत्येक महिनाको दुईपटक मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्ने गर्छ ।
निगमले गत वर्षदेखि पेट्रोलियम पदार्थमा स्वचातिल मूल्य कार्यान्वयनमा ल्याएको छ । स्वचालित मूल्य अनुसार स्थानीय बजारमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने गर्छ ।
प्रतिक्रिया