चितवन । नागढुंगा–मुग्लिन सडक योजनाअन्तर्गत पश्चिम खण्ड विस्तारको काम सम्झौताअनुसार आठ महिनापछि आउँदो डिसेम्बर २९ अर्थात् पुस १४ भित्रै पूरा हुनुपर्नेछ ।
मलेखुदेखि मुग्लिनको ३९ किलोमिटर सडक विस्तारको काम ३६ महिनाभित्र सक्ने गरेर सन् २०२२ डिसेम्बर ३० मा सम्झौता भएको थियो । तर ठेक्काको म्याद सकिन साढे ७ महिनामात्रै बाँकी रहँदा २६ प्रतिशत काम मात्रै भएको छ ।
अहिलेसम्म २६ प्रतिशत हाराहारी काम भएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर सचेन्द्र मिश्रले पुष्टि गरे । ‘पछिल्लो समय कामको रफ्तार बढेको हुँदा असारसम्म ४५ देखि ४८ प्रतिशत हाराहारी काम सक्ने लक्ष्यमा छौँ,’ उनले भने । काम भइरहँदा सोही सडकबाट दिनहुँ गुड्ने गाडीको व्यवस्थापनबाहेक हाललाई अन्य कुनै ठूला समस्या नरहेको उनले बताए ।
नागढुंगादेखि मुग्लिनसम्मको सडकलाई तीन खण्ड बनाएर विस्तारको काम भइरहेको छ । बाँकी दुई खण्डमा पनि काम सकिएको छैन । पश्चिम खण्डमा पर्ने मलेखुदेखि मुग्लिनसम्म ३९ मध्ये लगभग दुई किलोमिटर सडक ६ लेनको हुनेछ ।
बेनीघाट, मलेखु र मुग्लिन बजार क्षेत्रको सडक ६ लेनको हुने इन्जिनियर मिश्रले बताए । यी तीन बजारबाहेक बाँकी क्षेत्रमा लगभग सात किलोमिटर सडक चार लेनको हुनेछ । अन्य क्षेत्रको सडक सुविधाजनक दुई लेनको हुने सूचना अधिकारी इन्जिनियर मिश्रले जनाए ।
यस सडकमा हालसम्म विभिन्न ठाउँमा गरेर साढे चार किलोमिटर हाराहारीमा एक तहको कालोपत्र भएको छ । त्यस्तै पहिलो बेसको काम साढे दुई किलोमिटरमा सकिएको इन्जिनियर मिश्रको भनाइ छ ।
प्रतिक्रिया