काठमाडौं । दलहरुबीच सहमति जुटन नसकेपछि प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले उक्त समय निर्धारण गरेका हुन् ।
माओवादी केन्द्रसहितका विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि यसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि नै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने अडानमा छन् । सभामुख देवराज घिमिरेले आज बिहान दलका प्रमुख सचेतकहरुसँग संसद खुलाउने बिषयमा छलफल गरे पनि दुवै पक्ष आ–आफ्नो अडानमा देखिएपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
प्रतिक्रिया