काठमाडौं । सत्ता गठबन्धन दलहरुको आज प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको छ ।
सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए। सत्तारुढ जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाए सरकारलाई समर्थन नदिने अडान लिएपछि भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन।
राष्ट्रिय सभामा अन्य पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् ।
जसपा नेपालसँगको सहमति अनुसार नै अध्यादेश नभई विधेयकमार्फत् भूमिसम्बन्धी कानुन बनाउने सहमति दलहरुबीच भएको छ । बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया