काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा नेपाली कांग्रेसका दुई महामन्त्रीले अपत्ति जनाएका छन् ।
यसअघि पटक–पटक स्पष्टीकरण सोधेर सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई हटाएपछि सो निर्णयको सर्वत्र आलोचना भइरहेको छ ।
सोही क्रममा कांग्रेसका महामन्त्रीद्वयले पनि प्रतिक्रिया दिएका हुन् । गगन थापाले जनताको असन्तुष्टि बढिरहेको बेला सरकारले गलत निर्णय गरेको भन्दै सरकारको आलोचना गरेका छन् । तर, उनले फेसबुकमा लेखेको स्टाटसमा भने कुलमानको नाम लेखेका छैनन् ।
यस्तो छ गगन थापाको स्टाटस
आमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकारचाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?
हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने कुलमानको नामै लेखेर सरकारको निर्णयमा असन्तुष्टि जनाएका छन् । कुलमानलाई हटाउन आफ्नो पार्टीको पदाधिकारी तहको सहमति नभएको पनि शर्माले उल्लेख गरेका छन् । यसप्रति आफ्नो खुला विमति रहेको उनले उल्लेख गरेका छन् ।
यस्तो छ शर्माको स्टाटस
कुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो ।
कारबाहीयोग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । असन्तुष्टिलाई निराशाको भास्य बनाएर, प्रतिगमनको खेती गर्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रति खुला र प्रष्ट रूपमा विमति छ ।
प्रतिक्रिया