देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य हुँदैन : राष्ट्रपति पौडेल

देशान्तर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् ।


सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताउँदै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको पनि प्रष्ट पारेका छन् ।

शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य एवं भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो भन्दै राष्ट्रपति पौडेलले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताए ।

राष्ट्रपति पौडेलले भने– “इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई रुचाएनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौँको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।”

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैलाई आग्रह गरे।