काठमाडौं । बागबजारको पद्मकन्या (पीके) क्याम्पसको स्ववियु निर्वाचनमा प्यानलसहित जितेको नेविसंघको बागी समूहले सोमबार काठमाडौंमा विजय जुलुस निकालेको छ ।
यही चैत ७ गते भएको निर्वाचनबाट नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेविसंघका बागी उम्मेदवार प्यानलसहित विजयी भएका थिए । उनीहरूले नेविसंघकै आधिकारिक उम्मेदवारलाई हराएका हुन् ।
अध्यक्षमा नेविसंघबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ‘भूपि’को प्यानलै विजयी भएको हो । भूपीले ७३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत मात्र ल्याइन् ।

यस्तै सचिव र कोषाध्यक्षमा भूपिकै प्यानलका स्वतन्त्र उम्मेदवारहरू सन्ध्या बस्याल र संकल्पिका थापा विजयी भएका थिए । यी दुवैले नेविसंघका उम्मेदवारलाई नै पछि पारेका हुन् ।
यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल विजयी भए । यी भूपिकै समूहका बागी उम्मेदवार हुन् ।
सधैँ नेविसंघको वर्चश्व रहेको यस क्याम्पसमा योपटक भने नेविसंघको वागी प्यानलले जितेको छ ।
नेविसंघकै विवादका कारण निर्वाचन दुई दिन पछि सरेको थियो ।
सभापति निर्वाचित भूपि यसखघि नेविसंटबाटै स्ववियु सचिवमा विजयी भएकी थिइन् । आजको विजय जुलुसमा पनि ‘नेवि संघ जिन्दावाद’को नारा लागेको थियो ।
जुलुस रत्नपार्क, त्रि–चन्द्र कलेज, कमलादी, पुतलीसडक हुँदै फेरि पीकेमै पुगेको थियो ।
प्रतिक्रिया