देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको आरोपपछि संसदमा केही समय लफडा

देशान्तर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको नेवारी समुदायको चिहान कांग्रेस नेताले कब्जा गरेको स्थानीय गुनासो रहेकोले आरोप लगाएपछि प्रतिनिधिसभामा बुधबार केही समय लफडा भएको छ । रास्वपाका सांसदहरुको आरोपपछि कांग्रेसका सांसदहरूले विरोध जनाएपछि केहीबेर संसद् अवरुद्ध भएको थियो ।


रास्वपाका सांसद शिशिर खनालले नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले कुनै पहल नगरेको आमगुनासो रहेको बताएका थिए ।

खनालले आफ्नो धारणा राखिसकेपछि सभामुखले नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरलाई बोल्न समय दिएका थिए । तर, कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउँदै समय मागे । तर, सभामुखले कुनै नेतालाई नतोकेको भन्दै सोझै प्रतिवाद नगर्न आग्रह गरे र बैठक अघि बढाए ।

आजकै बैठकमा रास्वपाकै सांसद सुमना श्रेष्ठले पनि कांग्रेसका नेताले सरकारको नाममा रहेको जग्गाको भोगचलन गरेको गुनासो स्थानीयको रहेको बताएकी थिइन् ।

श्रेष्ठले धारणा राखिसकेपछि कांग्रेसका सांसदहरूले उठेर समय माग गरे । सचेतक सुशिला थिङ, सांसदहरू राजेन्द्र कुमार केसी, राजेन्द्र बजगाईंलगायतले उठेर विरोध गरे । उनीहरूले पार्टीलाई लाञ्छना नलगाउन भन्दै आपत्ति जनाएका थिए ।