देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेसको ‘मिसन रोजगार अभियान’ सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ। कांग्रेसले आइतबार औपचारिक रूपमा ‘हामी सक्छौं’ भन्ने मूलनारासहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो। केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको संयुक्त रूपमा घोषणा गरे।

मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। थापाले भने, ‘मुलुकभित्र रोजगारी सिर्जना गर्न नीतिगत तहदेखि व्यावहारिक रूपमा पहल गर्छौं।’

श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरूलाई समेत बोलाएर छलफल गर्दै अरू दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सिर्जना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे।

‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ। कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षाअनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं।’ नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशतबिना सीपको न्यूनस्तरको श्रमशक्ति रहेको बताए।

कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूको पनि सहभागिता रहेको थियो।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेन्डा बनेको बताए। ‘विगतमा पनि काम भइरहेको थियो। अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउछौं।’

रोजगारी सिर्जना र उद्यमशीलतालाई सँगसँगै अघि बढाउने शर्माले बताए। कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ। ​​​​​​​