मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। उनले जस्टिन ट्रुडोको स्थान लिनेछन्। लिबरल पार्टीले सोमबार उनलाई आफ्नो नेतामा चयन गरेको हो। कार्नीले ८५.९प्रतिशत मत प्राप्त गरेका छन्।
प्रधानमन्त्री पदको दौडमा कार्नीले पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्ड, पूर्व सरकारी सदन नेता करिना गोल्ड र पूर्व संसद सदस्य फ्रयांक बेलिसलाई हराएका छन्। उनी कुनै पनि विधायिकी वा मन्त्रिपरिषद्को अनुभवविना पहिलो क्यानाडाली प्रधानमन्त्री हुनेछन्।
जस्टिन ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो। त्यसपछि उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका हुन्।
प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, ‘हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ जुन त्यस्तो देशबाट आएको छ जसलाई हामी अब विश्वास गर्न सक्दैनौं ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउन जारी राख्ने वाचा गरेका छन्।
निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि पार्टी र आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका थिए। उनले भनेका थिए, ‘मलाई गलत नसम्झनु, विगत १० वर्षमा हामीले गरेको काममा मलाई धेरै गर्व छ। तर आज देशको भविष्यको बारेमा सोच्नु पर्छ।’
उनले आफ्ना समर्थकहरूलाई सक्रिय रहन आग्रह गरेका छन्। ‘तपाईंको देशलाई पहिलेभन्दा बढी आवश्यकता छ। उदारवादीहरू यस क्षणमा उठ्नेछन्। यो राष्ट्रलाई परिभाषित गर्ने क्षण हो। लोकतन्त्र र स्वतन्त्रताका लागि निरन्तर प्रयास आवश्यक पर्दछ। यसको लागि साहस, त्याग, आशा र कडा परिश्रम चाहिन्छु,’ ट्रुडोले भने।
मार्क कार्नी एक अर्थशास्त्री र पूर्व केन्द्रीय बैंकर हुन्। कार्नी २००८ मा बैंक अफ क्यानडाको गभर्नर भएका थिए। क्यानडालाई मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमहरूका कारण, बैंक अफ इंग्ल्याण्डले उनलाई २०१३ मा गभर्नर पदको प्रस्ताव गरेको थियो।
बैंक अफ इंग्ल्याण्डको ३०० वर्षे इतिहासमा यो जिम्मेवारी पाउने उनी पहिलो गैरब्रिटिस नागरिक थिए। उनी २०२० सम्म त्यहाँ रहे। ब्रेक्जिटको समयमा उनका निर्णयहरूले उनलाई बेलायतमा प्रसिद्ध बनाएको थियो।
गत वर्ष जुलाईमा एक मतदान फर्मले जस्टिन ट्रुडोको स्थान लिने सम्भावित उम्मेदवारहरूको बारेमा सर्वेक्षण गरेको थियो। त्यसमा २००० मध्ये १४० जना मात्र अर्थात् ७ प्रतिशत मानिसहरूले मार्क कार्नीलाई चिन्न सकेका थिए। जनवरीमा जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनले आफूलाई लिबरल पार्टीको उम्मेदवारको रूपमा प्रस्ताव गरेका छन्।
उनले लिबरल पार्टीका धेरै क्याबिनेट मन्त्री र सांसदहरूको समर्थन पाएका छन्। जसले उनको दाबीलाई बलियो बनाएको छ। हालै गरिएको मेनस्ट्रिट सर्वेक्षण अनुसार कार्नीलाई ४३प्रतिशत समर्थन छ भने पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रिल्याण्डलाई ३१प्रतिशत मतदाताहरूको समर्थन छ।
यद्यपि कार्नी कति समयसम्म प्रधानमन्त्री रहनेछन् भन्न सक्ने अवस्था छैन। संसदमा लिबरल पार्टीको बहुमत छैन। प्रधानमन्त्री बनेपछि कार्नीले अक्टोबर अघि देशमा चुनाव गराउनुपर्नेछ। हाल उनी संसदको सदस्य पनि छैनन्। त्यसैले उनले चाँडै चुनाव गराउन सक्छन्।
प्रतिक्रिया