केही दिनअघि पत्रकार गणेश पाण्डेको पुस्तक विमोचनमा खुवै प्रशंसा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षलाई ठूलै धक्का दिएको छ । नेकपा एमाले मोरङको अधिवेशनमा भण्डारी र ओली पक्ष खुलमखुला प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारी निकट समूहले पार्टीको जिल्ला नेतृत्वमा विजय हासिल गर्दै पार्टीभित्र नयाँ शक्ति सन्तुलन कायम गरे को छ । मोरङ एमालेमा दशकौँसम्म वर्चस्व राख्दै आएका ओली पक्षलाई पराजित गर्दै भण्डारी पक्षले निर्णायक जित निकालेको हो ।
जिल्ला अध्यक्ष पदमा भण्डारी समर्थक अजम्बर राई निर्वाचित भएका छन् । उनले ओली समूहका प्रत्यासी राजकुमार ओझालाई ३९ मतको अन्तरले पराजित गरे । उपाध्यक्षमा सागर थापा, सचिवमा सन्तोष वान्तवा, उपसचिवमा उषा झा विजयी भएका छन् ।
एमाले मोरङको यस ऐतिहासिक परिणाममा पार्टीका प्रभावशाली नेता विनोद ढकालको निर्णायक भूमिका रहेको राजनीतिक वृत्तमा चर्चा छ । कुनै समय ओली समूहका कट्टर समर्थक रहेका ढकालले भण्डारी समूहतर्फ खुला समर्थन गरेपछि मोरङ एमालेको शक्ति सन्तुलन परिवर्तन भएको देखिन्छ । ढकालको समर्थन पाएको भण्डारी पक्षको टिमले अधिकांश पदहरूमा सहज जित निकालेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मोरङ अधिवेशनमा प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो । तर, आफ्नो समूह कमजोर देखिएपछि उनले अधिवेशनमा सहभागिता जनाएनन् । उनको सन्देश उपाध्यक्ष रामबहादुर थापामार्फत पठाइएको थियो, जसमा पार्टीको आन्तरिक प्रतिस्पर्धा नगराउने निर्देशन थियो । तर, प्रतिस्पर्धा रोकिन सकेन, र अन्ततः भण्डारी पक्षले आफ्नो पकड कायम ग¥यो ।
उपाध्यक्ष पदमा सागर थापा ४२२ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३९१ मत मात्र ल्याइन् । सचिव पदमा सोमराज थापाले ४६१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी रविन थापा ३६८ मतमा सीमित रहे । उपसचिव सन्तोष वान्तवाले भारी मतान्तरका साथ ४९० मत ल्याएर जित निकाले । महिला उपसचिवमा उषा झाले ४१८ मत ल्याउँदै विजय हासिल गरिन् ।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि सुरु भएको थियो । ९११ जना प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए ।
यो जितले एमाले मोरङको राजनीतिक सन्तुलन पुनःपरिभाषित गरेको छ । अब भण्डारी पक्षको प्रभावशाली उपस्थितिले पार्टीको भावी रणनीतिमा ठूलो भूमिका खेल्ने आँकलन गरिएको छ । पार्टीमा सक्रिय रहनकै लागि भण्डारीले राष्ट्रपति पद छाडेपछि सरकारी सेवा सुविधा नलिने बताएकी थिइन् । जननेता मदन भण्डारीपत्नी विद्यालाई ओलीले नै राष्ट्रपति बनाए पनि पछिल्लो समय यी दुईका बीचमा सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा चर्चा छ ।
प्रतिक्रिया