देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिका र युक्रेनबीच पुनः वार्ता हुने

देशान्तर

काठमाडौं । अमेरिका र युक्रेनबीच पुनः वार्ता हुने भएको छ । ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच तीक्ततापूर्ण घोचपेच भएको केही दिनपछि पुनः वार्ता हुन लागेको हो ।

जेलेन्स्कीले बिहीबार रुससँगको युद्ध समाप्तिका विषयमा आगामी हप्ता अमेरिकासँग वार्ता हुने बताएका छन् । साउदी अरबमा उक्त वार्ता हुने जेलेन्स्कीको भनाइ छ ।

ह्वाइटहाउसको कमान ट्रम्पले सम्हालेपछि अमेरिकाले रुसप्रति नरम नीति अपनाउँदै आएको छ । उसले शान्ति वार्ताका लागि युक्रेनमाथि दबाब बढाएको छ । उता, युरोपेली नेताहरूले युक्रेनको साथ दिइरहेका छन् । तर, अमेरिकाले हात झिकेको अवस्थामा युक्रेनमा रुसलाई रोक्न युरोप कति सफल होला भन्ने प्रश्नहरू भने कायमै छन् ।

आफ्नो सम्बोधनका क्रममा जेलेन्स्कीले भनेका छन्- उनी सोमबार साउदी अरब जानेछन् । उनको टिमले त्यहाँ अमेरिकी अधिकारीहरूसँग वार्ता गर्नेछ ।

त्यहाँ रहँदा जेलेन्स्कीले साउदी युवराजलाई पनि भेट्नेछन् । युक्रेनले शान्तिका लागि सबैभन्दा धेरै प्रयासरत रहेको पनि जेलेन्स्कीले बताएका छन् । उनले यो यात्राको उद्देश्य युद्ध समाप्त गर्नका लागि अमेरिकासँग वार्ता गर्नु र शान्ति प्रक्रियालाई अघि बढाउनु रहेको उल्लेख गरेका छन् ।