काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटमा भइरहेको ढिलाइले उपकुलपति खोज तथा सिफारिस समितिको कार्यक्षमता र निष्पक्षतामाथि नै प्रश्न उठेको छ । पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वको समितिले गत फागुन ३ गते नै उम्मेदवारहरूसँग अन्तरवार्ता लिइसकेकोे भए पनि अझै तीनजनाको नाम सिफारिस नगर्नुले विभिन्न शंका उपशंकाहरू उत्पन्न भएका छन् । समितिले आफैँले बनाएको कार्यविधि अनुरूप छनोटका सबै प्रक्रिया पूरा गरेको तीन हप्ता भइसक्दा पनि अझै विश्वविद्यालयले उपकुलपति पाउन नसक्दा यसमा चलखेल भइरहेको आशंका समेत बढेको छ । समितिको कार्यविधिमा छनोट प्रक्रियाबाट उत्कृष्ट अंक प्राप्त गर्ने तीनजनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । तीमध्ये एकजनालाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ । मेरिटका आधारमा उच्च अंक ल्याउने तीनजनाको नाम सिफारिस गर्न किन ढिलाइ भइरहेको छ ?
समितिले वर्णानुक्रम अनुसार डा. अच्युत वाग्ले, डा. कन्हैया झा, डा. जनार्दन लामिछाने, डा. बालचन्द्र लुइँटेल, डा. विभूति रञ्झन झा, डा. वेदमणि दाहाल, डा. भोला थापा, डा. राजेन्द्रप्रसाद कोजू, डा. श्यामनारायण लाभ र डा. सुवोध शर्माको नाम सर्ट लिस्टमा राखेको थियो । केयूको उपकुलपतिका लागि कुल आवेदकमध्ये २० जनाको नाम स्वीकृत भएको थियो, जसबाट यी १० जना सर्ट लिस्टमा परेका थिए । ३ फागुनमा उनीहरूसँग समितिले अन्तर्वार्ता पनि लिइसकेको छ । त्यसपछि सर्ट लिस्टमा परेका १० जनाबाट तीनजनाको नाम छनोट समितिले कुलपतिसमक्ष सिफारिस गर्नुपर्नेमा अहिलेसम्म पनि गर्न सकेको छैन । सिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्मा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सदस्य छन् ।
उपकुलपतिका उम्मेदवारहरूले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई उपकुलपति छनोटमा ढिलाइ नगर्न आग्रह गरेका छन् । केही दिनअगाडि कार्यविधिअनुसार नाम सिफारिसका लागि सहजीकरण गरिदिन उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया