काठमाडौं । आर्थिक क्षेत्रमा आकर्षक र प्रभावशाली पद मानिने नेपाल राष्ट्र बैंकको भावी गभर्नर बन्न राष्ट्र बैंकका २ जना डेपुटी गभर्नरहरूसँगै पूर्वडेपुटी गभर्नरहरू, राष्ट्र बैंककै वहालवाला र अवकाशप्राप्त कार्यकारी निर्देशकहरू, अर्थविद्हरू, प्रशासकहरू, सत्तापक्ष निकट विज्ञहरूको दौडधूप सुरु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल आगामी चैतको तेस्रो सात सकिन लागेपछि गभर्नर बन्न दर्जनौं आकांक्षीहरू शक्तिकेन्द्रहरू धाउन थालेको समाचारस्रोतले दाबी गरेकोे छ । २०७६ चैत २४ गते १७ औं गभर्नर बनेका अधिकारी ५ वर्षे कार्यकाल २०८१ चैत २५ गते सकिँदै छ । गभर्नर छनोटका लागि अर्थमन्त्रीको संयोजकत्वमा बन्ने समितिमा राष्ट्र बैंकका एक पूर्वगभर्नर र एक विज्ञ सदस्य हुन्छन् । सामान्यतयाः गभर्नरको कार्यकाल सकिन १ महिना अगाडि नै सिफारिस समिति बन्छ । गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिले नेपाल सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
सिफारिस समितिलाई आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने वा सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा सिफारिस गर्ने अधिकार हुन्छ । समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्ने ३ जनामध्ये हालका डेपुटी गभर्नरमध्येबाट १ जना हुनैपर्ने व्यवस्था छ । सिफारिस भएका ३ नाम मध्येबाट १ जनालाई सरकारले गभर्नर पदमा नियुक्त गर्नेछ । राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।
त्यस्तै, राजनीतिक दलको सदस्य वा पदाधिकारी, वाणिज्य बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालो सूचीमा परेको व्यक्ति, वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वाणिज्य बैंक तथा वित्तीय संस्थामा ५ प्रतिशत वा सोभन्दा बढी सेयर वा मतदानको अधिकार भएको व्यक्ति, ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, बहुलाएको व्यक्ति वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति गभर्नरका लागि अयोग्य हुने ऐनमा उल्लेख छ ।
हाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र नीलम ढुंगाना तिम्सिना, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ र डा. गुणाखर भट्ट, केन्द्रीय बैंकका सञ्चालक समेत रहेका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हाल उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रहेका पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वअर्थसचिव डा. राजन खनाल, पूर्व बैंकर राजनसिंह भण्डारी, पूर्वराजस्व सचिव लालशंकर घिमिरे, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसीइओ किरणकुमार श्रेष्ठ तथा लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायत गभर्नरको आकांक्षी देखिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया