काठमाडौं । संसारको शक्तिशाली राष्ट्र दाबी गर्ने अमेरिकाले युक्रेनका राष्ट्रपतिसँग गरेको व्यवहारले यतिबेला विश्व राजनीति नै तरंगित बन्न पुगेको छ । रुस युक्रेन युद्ध सुरु भएको तीन वर्ष हुँदा पनि अहिलेसम्म शान्ति कायम नभएपछि यसका बाछिटाहरू बढ्न थालेका छन् । यसले युरोप र अमेरिका दुई समूहमा विभाजन हुने खतरा पनि उत्तिकै कायम छ । दोस्रोपटक कार्यकाल सम्हालेपछि सनकका भरमा निर्णय गर्दै विश्व राजनीतिमा तरंग ल्याएका अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको छलफल एक असाधारण विवादमा परिणत भएको छ । शान्तिवार्तालाई गति दिने उद्देश्यले गरिएको र सञ्चारमाध्यममा प्रत्यक्ष प्रसारण पनि भएको उक्त भेटवार्तापछि अवस्था झन् जटिल बनेको छ । कुनै पनि धर्मले पाहुना अर्थात् अतिथिलाई देवतासमान मान्छ । त्यसैले ‘अतिथि देवो भव’ भनिन्छ । ट्रम्पले आफैँ युक्रेनका राष्ट्रपतिलाई बोलाएर उल्टै झपारेपछि ट्रम्पको तल्लोस्तरको कूटनीति छरपस्ट भएको छ । रुस युक्रेन युद्धमा अमेरिकामा जो बाइडेनले नेतृत्व गर्दासम्म युक्रेनलाई बलियो साथ दिएका थिए । तर अहिले सत्ता फेरिएर ट्रम्प आएपछि उनले रसियासँग दोस्तीको हात अघि बढाउँदै युक्रेनलाई पेल्न थालेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनले अहिलेसम्म गुमाएका भूभाग रुसमै राख्नेगरी युद्धविरामको प्रस्ताव गरेको थियो । यही प्रस्तावका दौरान अमेरिकाले युक्रेनको खनिज भण्डारमा आँखा लगाउँदै अहिलेको परिस्थिति आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार जेलेन्स्की, राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स वार्तामा बसेका थिए । ‘तिमीहरू सम्झौता गर्न चाहन्छौ वा हामी बाहिर निस्किन्छौ,’ ट्रम्पले क्रुद्ध हुँदै जेलेन्स्कीलाई भनेका थिए । उनले युक्रेनमाथि अमेरिकी समर्थनको अनिश्चितता जनाउँदै भने, ‘तिमीहरूले लाखौँ जनताको जीवनसँग खेलबाड गर्दै छौ । यो अत्यन्तै अनादरपूर्ण हो । यो विवाद त्यतिबेला चुलियो जब अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युद्ध अन्त्य गर्न ‘कूटनीति’ आवश्यक रहेको बताए । जेलेन्स्कीले ‘कस्तो कूटनीति ?’ भनेर प्रतिप्रश्न गरेपछि भान्सले उनलाई ‘अनादरपूर्ण व्यवहार’ गरेको आरोप लगाए । ट्रम्प र जेलेन्स्कीबीचको वादविवाद बढ्दै गएपछि ट्रम्पले उनलाई तिखो जवाफ दिँदै भने, ‘तिमीहरू पर्याप्त आभारी देखिँदैनौ । यसरी व्यापार (सम्झौता) गर्न गाह्रो छ ।’
जेलेन्स्कीले भने तुलनात्मक रूपमा संयमित स्वरमा आफूहरूले उच्च स्वरमा बोल्नुभन्दा समाधान खोज्नु आवश्यक रहेको बताए । यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवाद अघि बढाएपछि अमेरिकाले युक्रेनलाई समर्थन कमजोर पार्न लागेको भन्ने आशंका उत्पन्न भएको थियो । वासिङ्टनले कुनै सुरक्षा ग्यारेन्टी नदिई शान्तिवार्ताको प्रयास गरिरहेको छ, जसले जेलेन्स्कीलाई थप चिन्तित बनाएको छ ।
ट्रम्प प्रशासनले युक्रेनसँगको सहयोग जारी राख्ने सर्तस्वरूप अमेरिकालाई युक्रेनका दुर्लभ खनिज स्रोतमा विशेष पहुँच दिने सम्झौता गर्नुपर्ने माग राखेको छ । ‘हामी खन्नेछौँ, खन्नेछौँ, खन्नेछौँ,’ ट्रम्पले भनेका थिए, जसले उनले तेल उत्खननसम्बन्धी पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ को पुनः स्मरण गराए । तर, उनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने कुनै ठोस प्रतिबद्धता जनाएका छैनन् । बेलायत र फ्रान्सले शान्ति सम्झौता भएमा शान्ति सेनाको प्रस्ताव गरेका छन्, तर अमेरिकाले त्यसमा सहयोग गर्ने कि नगर्ने अन्योल छ । ट्रम्पले यसअघि जेलेन्स्कीलाई ‘चुनावविनाको तानाशाह’ भन्दै आलोचना गरेका थिए । तर, पछिल्लो समय उनले आफ्नो भनाइ केही परिवर्तन गर्दै भनेका छन्, ‘म उनलाई सम्मान गर्छु, हामी राम्रोसँग मिलेर काम गर्नेछौँ ।’ तर, ट्रम्पले यो पनि स्पष्ट पारेका छन् कि अमेरिकाले युक्रेनलाई दिएको अर्बौं डलरको सैन्य सहायता फिर्ता लिन सक्नुपर्ने आधार आवश्यक रहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित सुनिश्चित हुने गरी युक्रेनमाथि युद्धविराम गर्न बाध्य पार्ने योजना बनाइरहेको आशंकाले युरोपेली नेताहरूलाई थप सतर्क बनाएको छ । ट्रम्प र जेलेन्स्कीबीचको चर्काचर्की सार्वजनिक भएपछि युरोपेली संघ (इयू) का शीर्ष नेताहरूले खुलेर युक्रेनको समर्थन गरेका छन् । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेन र युरोपेली काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई सन्देश दिइन्, ‘बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस् । हामी न्यायसंगत र स्थायी शान्तिका लागि तपाईंसँग छौँ ।’ युरोपेली संघका कूटनीतिक प्रमुख काजा कल्लासले ट्रम्पको नेतृत्वमाथि शंका व्यक्त गर्दै ट्रान्सएटलान्टिक गठबन्धन (अमेरिका–युरोप साझेदारी)को भविष्यबारे प्रश्न उठाइन् । उनले सामाजिक सञ्जालमा लेखिन्, ‘स्वतन्त्र विश्वलाई नयाँ नेतृत्व आवश्यक छ । युरोपेलीहरूले अब निर्णय गर्नुपर्नेछ ।’
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई आश्वस्त पार्दै भने, ‘तपाईं एक्लो हुनुहुन्न ।’ बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनवार्ता गर्दै युक्रेनलाई ‘अटुट समर्थन’ दिने प्रतिबद्धता जनाए । इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अमेरिका, युरोप र उनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन को आह्वान गरिन् । उनले भनिन्, ‘हामीले युक्रेन युद्धका चुनौतीहरू कसरी सामना गर्ने भनेर स्पष्ट रूपमा छलफल गर्नुपर्छ ।’
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पुटिनलाई स्पष्ट रूपमा आक्रमणकारी ठहराउँदै भने, ‘युक्रेनलाई सहयोग गर्नु सही निर्णय थियो । यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो पुटिन हो ।’
जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले भने, ‘हामीले आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन ।’ निवर्तमान चान्सलर ओलाफ स्कोल्ज र विदेशमन्त्री एनालेना बेयरबोकले पनि युक्रेनको शान्ति र सुरक्षाको पक्षमा दृढ समर्थन जनाए । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने, ‘युक्रेनी मित्रहरू, स्पेन तपाईंहरूको साथमा उभिएको छ ।’
ट्रम्पको कठोर रणनीति र अमेरिकी सुरक्षा ग्यारेन्टीबारे अनिश्चितताले युक्रेनका सहयोगीहरूलाई झस्काएको छ । ट्रम्पले रुसी आक्रमणकारीलाई दबाब दिनुको सट्टा युक्रेनलाई सम्झौताका लागि बाध्य पार्न खोजिरहेको देखिन्छ । यस्तो अवस्थामा, युरोपेली नेताहरू एकजुट भई युक्रेनको समर्थनमा उत्रिएका छन् । अब, युक्रेनको भविष्य अमेरिका वा युरोपले लिने निर्णयमा निर्भर रहनेछ ।
प्रतिक्रिया