देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्ड गर्मीमा दशौँ राष्ट्रिय खेलकुद

देशान्तर


काठमाडौं । हरेक २ वर्षमा आयोजना हुनुपर्ने नेपालको राष्ट्रिय खेलकुद प्रतियोगिता पटक–पटक सर्दै आएको छ । यसपटक पनि मंसिरमै कर्णाली प्रदेशमा आयोजना हुनुपर्ने दशौँ राष्ट्रिय खेलकुदको मिति तेस्रोपटक सरेको छ । सुरुमा मंसिरमा भनिएको मितिमा नभएपछि चैतको २३ देखि ३० को मिति तय गरिएको थियो । तर अहिले फेरि राष्ट्रिय खेलकुद परिषद् राखेपको १२१औँ बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको मिति २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । संघीय सरकारको ढिलासुस्ती, खेलकुद निर्देशिका स्वीकृत नहुनु र आवश्यक बजेट निकासा नहुनु रहेको बताइएको छ ।
दसौँ राष्ट्रिय खेलकुदको मुख्य खेलस्थल कर्णाली प्रदेश रंगशाला निर्माण पूरा भइसकेको छ । करिब १ अर्ब ५९ करोड रुपैयाँको लागतमा बनेको उक्त रंगशालाका साथै चिसापानी फुटबल मैदान, कालुंगचोक रग्बी मैदान, र रंगशाला परिसरभित्रको क्रिकेट मैदानको निर्माणसमेत सम्पन्न भइसकेको छ ।


प्रदेश सरकारले राष्ट्रिय प्रतियोगिताका ३५ खेलमध्ये २४ वटा खेल कर्णालीमै आयोजना गर्ने योजना बनाएको थियो । १० हजार दर्शक क्षमताको प्रदेश रंगशालामा मात्र १६ खेल सञ्चालन गर्ने तयारी गरिएको थियो । यसबाहेक, हुम्लामा हक्की मैदान तथा दैलेख, कालीकोट, जुम्ला, रुकुम पश्चिम र सल्यानका कभर्डहलमा समेत केही खेलहरू आयोजना गर्ने योजना थियो । तर प्रतियोगिता पुनः स्थगित भएपछि यी पूर्वाधारहरूको प्रयोग पनि अन्योलमा परेको छ ।
दसौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले ६० करोड रुपैयाँ बजेट विनियोजन गरे पनि खेलकुद सञ्चालन निर्देशिका र खर्च मापदण्ड स्वीकृत नहुँदा तयारीका कामहरू प्रभावित भएका छन् । राखेपका प्रशासन विभाग प्रमुख भोजानन्द राईका अनुसार निर्देशिका तयार गरी खेलकुद मन्त्रालयमा पठाइएको छ, तर त्यहाँबाट अर्थ मन्त्रालयमा प्रक्रिया अगाडि नबढेकाले बजेट निकासा हुन सकेको छैन ।


जेठको गर्मी मौसम र संभावित वर्षाका कारण पनि निर्धारित मिति उपयुक्त नरहेको विभिन्न खेल संघका पदाधिकारीले देशान्तरलाई बताएका छन् । जेठमा सुर्खेतमा ४१ डिग्री सेस्लियससम्म तापक्रम पुग्ने भएकाले प्रतियोगिता सञ्चालन गर्न अप्ठेरो पर्ने छ । जेठ पहिलो सातामै झन्डै ३० डिग्री आसपास हुने हुँदा प्रतियोगितामा खेलाडीलाई खेल्न अप्ठेरो पर्ने मौसमविद्हरूले बताएका छन् । मिति घोषणा भए पनि आयोजना गर्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद् नै पदाधिकारीविहीन छ । सत्ता साझेदार दलहरूबीच भागबन्डा नमिल्दा परिषद्का प्रमुख पदहरू रिक्त छन्, जसका कारण आयोजक प्रदेशको तयारी कार्यसमेत प्रभावित भएको छ । २०७७ पुस ६ गते नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वामित्र सञ्ज्याल तथा अन्य सदस्यहरूको कार्यकाल २०८० पुस ६ गते सकिएको थियो । नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया सुरु नै नभएकाले परिषद्को कामकाज पूर्ण रूपमा ठप्प प्रायः छ । हाल परिषद्को काम सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायले पदेन जिम्मेवारीका रूपमा सम्हालिरहेका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलका अनुसार पदाधिकारी नियुक्ति प्रक्रियालाई पूर्णता दिन कम्तीमा एक महिना लाग्नेछ । बारम्बार मिति सर्ने क्रमले खेलाडीहरूहरू भने निराश बनेका छन् । राष्ट्रिय प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरू तालिम तथा अभ्यासमा निरन्तरता दिन कठिनाइ भोगिरहेका छन् । केही प्रदेशहरूले दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोटको काम अघि बढाए पनि प्रतियोगिताकै मितिका कारण अहिले अन्यौल भएको उनीहरूको भनाइ छ ।
उता, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले भने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार र व्यवस्थापन पूरा गरिसकेको बताउँदै सबै कुरा संघीय सरकारको निर्णयमा भर पर्ने बताउँछन् ।