काठमाडौ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आज ग्रिस प्रस्थान गरेकी छिन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरेका थिए । एन्जिला व्यवसायिक फुटबल खेल्न ग्रिस प्रस्थान गरेकी हुन् । त्यहाँ उनले निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिग खेलिरहेकी छन् ।
यहि फागुन १४ गते भएको अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो । प्रतियोगितामा यी दुई टोलिसँगै लेबनान र कीर्गिस्तानको सहभागिता थियो ।
आज एन्जिलाको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरममा फुटबल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षदेखि गाउँबाट काठमाडौं आएपछि फुटबल टिमको कप्तान हुँदासम्मको कथा समेटिएको छ ।
चलचित्रमा एन्जिलाले नै आफ्नो भूमिकामा अभिनय गरेकी छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफूले जीवनमा बिर्सन नहुने धेरै नाम रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । उनले दयाहाङ राई जस्तो कलाकारसँग काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरिन् । ‘अञ्जिला’बाट अन्य खेलाडीको कथामा पनि चलचित्र बन्नका लागि बाटो खुलेको उनको भनाइ छ ।
कार्यक्रममा अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको ठुलो फ्यान रहेको बताए । ‘कप्तानको चलचित्र बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भको उनले बताए । चलचित्रमा उनी एन्जिलाको बुबाको भूमिकामा छन् । निर्देशक मिलन चाम्सले चलचित्रमा अन्य राष्ट्रिय खेलाडीको पनि अभिनय रहेको जानकारी दिए । उनले गैर कलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको अनुभव सुनाउँदै दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए ।
एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरणा दिने उनको विश्वास छ । यही फागुन २९ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, लगायतको पनि अभिनय छ । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने सह–निर्माताको रुपमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यो चलचित्रबाट हुने आम्दानीबाट कप्तान एन्जिलाका लागि काठमाडौंमा घर बनाइदिने निर्माता श्रेष्ठले घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया