काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताएका छन् । कांग्रेस जिम्मेवार पार्टी भएको भन्दै यसका नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा पनि सिंहको जोड दिएका छन् । नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको सङ्घर्ष र त्याग बिर्सन नहुने बताए । उनले प्राप्त अधिकारका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दियौँ भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे ।
उनले पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको सिंहले प्रस्ट पारे । उनले कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीको नीति, सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुन नहुने भन्दै राजनीतिक संस्कार बिर्सन नहुने धारणा राखे ।
उपप्रधानमन्त्री सिंहले अहिले गठबन्धनको सरकार रहेको भन्दै गठबन्धनको संस्कार अनुसार नै सरकार अघि बढिरहेको पनि बताए । सरकार गठन हुँदाको सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले निर्वाचन गराउने सिंहको भनाई थियो ।
प्रतिक्रिया