काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण पनि दिएका छन् । उनले एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताए । यसैबीच माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए । उक्त घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए । त्यस्तै उनले जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने स्पष्ट पार्दै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।
प्रतिक्रिया