देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजवादीमा नेपाल–खनाल द्वन्द्व

देशान्तर


काठमाडौं । विगतमा नेकपा एमालेमा हुँदा अध्यक्ष केपी शर्मा ओलीको पेलाइमा परेपछि एउटै कित्तामा उभिएर एकीकृत समाजवादी बनाएका पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनालबीच पहिलो अधिवेशनपछि यहाँसम्म आइपुग्दा सम्बन्ध बिग्रिन थालेको चर्चा स्वयं समाजवादीकै नेताहरूले गर्न थालेका छन् । महाधिवेशनबाट नेपाल अध्यक्ष र खनाल सम्मानित नेता बनेका थिए । त्यसयता अन्य पदाधिकारी र भ्रातृ संस्थाको नेतृत्वलगायत विषयसम्म आइपुग्दा दुई नेता दुईतिर फर्किन थालेको बुझिएको छ । पछिल्लो समय समाजवादीले नेता–कार्यकर्तालाई पार्टी निर्णयबाहिर बोल्न नपाउने गरी प्रतिबन्ध लगाउने प्रस्ताव गरेपछि यसको पनि खनालले विरोध गरेका छन् । अस्ति शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ताले पालना गर्नुपर्ने १३ बुँदे आचारसंहिता प्रस्तुत गरेका थिए ।
‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक बोल्न पाउनेछन्, तर पार्टीका निर्णयविरुद्ध बाहिर गएर बोल्न पाइँदैन,’ प्रस्तावित आचारसंहितामा उल्लेख छ ।

आचारसंहितामा पार्टी अनुशासन पालन गर्ने, श्रमशोषण नगर्ने, समानताको पक्षपोषण गर्ने, सादा जीवनयापन गर्ने, परपुरुष–परस्त्रीसँग अनैतिक सम्बन्ध नराख्ने, पारदर्शी आर्थिक जीवन अपनाउने लगायतका बुँदा समावेश गरिएको छ । साथै, नेता–कार्यकर्ताले असभ्य भाषा प्रयोग गर्न नपाइने नियमसमेत प्रस्ताव गरिएको छ । तर, सम्मानित नेता खनालले जारी केन्द्रीय कमिटी बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष नेपालले पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संगठनमा मनपरी गरेको आरोप लगाउँदै उक्त गलत निर्णय सच्याउन माग गरेका हुन् ।

पार्टी अध्यक्ष नेपालले जारी गरेको अपानिमा दोहोरो जिम्मेवारीको नाममा अनेरास्ववियूकी अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेका थिए । त्यसपछि अनेरास्ववियूमा समानन्तर कमिटीको अभ्यास भइरहेको थियो । माधव नेपालको यस्तो कदमको विरोध गर्दै सम्मानित नेता खनालले पार्टी नेतृत्वले निरंकुश र नोकरशाही शैलीमा मनपरी ढंगले युवाहरूलाई हाँक्न खोजेको आरोप लगाएका छन् । खनालले केन्द्रीय कमिटी बैठकमा भने, ‘समाजवादी चेतना र प्रतिबद्धताले जागरुक बन्दै गरेका युवाहरूलाई निरंकुश र नोकरशाही शैलीमा हाँक्न सकिँदैन । पार्टी नेतृत्वले जथाभावी डन्डा चलाएर पार्टी चल्न सक्दैन । अन्यथा दुर्भाग्यपूर्ण अवस्था आइलाग्ने निश्चित छ ।’