देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ज्ञानेन्द्रको गनगन

देशान्तर


काठमाडौं । अधिराजकुमार हुँदादेखि नै विवादित छवि भएका र काकतालीले दोस्रोपटक राजा बन्ने अवसर पाएका इतिहासका अलोकप्रिय पात्र पूर्वराजा ज्ञानेन्द्र शाह २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा नेपालको राजतन्त्रको अन्त्य र गणतन्त्र घोषणा गरेपछि नेपालको अन्तिम राजा बन्दै गद्दी र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । आमनागरिक पूर्वराजा ज्ञानेन्द्र शाहले बेलाबेलामा देशवासीका नाममा शुभकामना सन्देश दिँदै गनगन गर्दै आएकोमा पछिल्लोपटक फागुन ७ गते प्रजातान्त्र दिवसको पूर्वसन्ध्यामा देशवासीका नाममा दिएकोे भिडियो सन्देशमार्फत आफूले त्याग गरेको र त्यो त्यागलाई कमजोरीका रूपमा नबुझ्न घुमाउरो शैलीमा चेतावनी दिए । उनको चेतावनीले वर्तमान राजनीतिक सन्दर्भमा कुनै अर्थ राख्दैन ।


२०६१ साल माघ १९ गते तत्कालीन राजा शाहले प्रजातान्त्रिक शासन व्यवस्थामाथि हमला गरेर शाही कूमार्फत प्रत्येक्ष निरंकुश शासन सुरु गरेर देशलाई आफैँले अस्तव्यस्त र अस्थिरतामा मात्र धकेलेनन् उनको त्यही स्वच्छाचारी र असंवैधानिक कदम नै नेपालबाट राजतन्त्रको उन्मूलन र गणतन्त्रको उदयको कारक बनेको तथ्य बिर्सिंदै आमनागरिक भइसकेपछि पनि उनी बेला–बेला गनगन गर्दै आएका छन् । पछिल्लो सन्देशमा उनले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान पनि गरे । पूर्वराजा शाहले आफू सक्रिय बन्दै गरेको पनि संकेत दिन पनि खोजेका छन् । उनको सन्देशसँगै राप्रपालगायत राजसंस्था पक्षधर समूह उत्साहित देखिएको छन् भने मुख्य राजनीतिक दलहरूले पूर्वराजा शाहको आह्वान अर्थहीन भएको टिप्पणी गरेका छन् ।

अवस्थाले निम्त्याएको समस्याभित्र शाहले खेल्न खोजेको भन्दै दलहरूले त्यस्तो प्रयास सार्थक हुने टिप्पणी गरेका छन् । पूर्वराजा शाहले सन्देशमार्फत तुस मात्रै पोखेको दलका नेताहरूको टिप्पणी छ । पूर्वराजाको सन्देश आएको भोलिपल्ट टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवसको औपारिक समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको उज्यालोमा हुर्किएको, अत्याधुनिक सूचना प्रविधिमार्फत अनलाइन सेवा लिने बानी परिसकेको आजको पुस्ताका लागि हिजोको शासनको त्यो क्रूरता– अनुभव होइन, कथा मात्र हो भन्दै भविष्यका रूपमा उदाउँदै गरेको भोलिको पुस्ताले यो दिन, बिर्सनै नमिल्ने दिन भएको भन्दै निरंकुश शासनले आफ्नो अभिजात्य विलासका लागि बनाएका संरचना र लोकतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन बनाएका संरचनाको तुलना वस्तुगत र तथ्यगत हुन नसक्ने बताएका थिए । उनले निरंकुश शासनको कहालीलाग्दो रात पार गरी लोकतान्त्रिक अधिकार उपभोग गरिरहेको हाम्रो समाजले पूर्वाधार विकासमा तुलनात्मक फड्को मारेको र स्वतन्त्रताको यही राजमार्गमा यात्रारत यी यात्रीहरूको विवेकले हुकुमी जन्जिरको औचित्य सावित गर्न सक्दैन भन्नेमा आफू विश्वस्त रहेको भनाइ राखेका थिए ।


यस्तै प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजसंस्थाको बहसमै आफूले भाग लिन नचाहेको बताएका छन् । नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको भन्दै उनले जनताले पटक–पटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प आफूले कल्पनासमेत गर्न नसक्ने र राजसंस्थाको बहसमै आफूले भाग लिन नचाहेको उल्लेख गरेका हुन् । पूर्वराजाले हालै प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्तिलाई लिएर कुनै कदम चाल्नु आवश्यक नरहेको थापाको भनाइ थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको प्रस्ट पारेको छ । एउटा नागरिकको हैसियतले बोल्न छुट भएर बोलेको भए पनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको मओवादीको जिकिर छ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको देखिएको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आआफ्नो हिसाबले प्रयोग गर्ने कोसिस पनि गरिरहेको भन्दै इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरूले पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवासपनामा रहेको त्यस खालका प्रचारबाजी भइरहेको टिप्पणी गरेका छन् ।
यता, पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेलाई आत्मालोचनासहित नवीन समझदारीमा आउन आह्वान गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट डोहो¥याएर नारायणहिटी पु¥याउने उद्घोष गरेका छन् । यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रले गत फागुन–७ गते गरेको आह्वानले राजतन्त्र पक्षधरको माहोल बलियो भएको बताएका छन् । शाहको आह्वानले संघीयता खारेजी र राजसंस्था पुनस्र्थापनाको एजेण्डा अब पूरा हुने उनको भनाइ छ । तर, पूर्वराजा ज्ञानेन्द्रले घरीघरी चतु¥याइँभन्दा मूर्खता प्रदर्शन गर्ने गरेको विश्लेषकहरूको भनाइ छ ।