काठमाडौं । पर्यटकीय राजधानी पोखरा भ्रमण वर्षको उदघाटनको क्रममा अघिल्लो शनिबार पोखरामा बेलुन विस्फोटको घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको अवस्थामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिकलाई पक्राउ गरेर नौटंकी देखाइएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ परेका ४१ वर्षीय कमलेस कुमारलाई हाजिरी जमानीमा छाड्न आदेश दिइसकेको छ ।
भव्य रूपमा सजाइएको छेउमा फायर क्यान्डिल बालेर झिल्का उठिरहेको बेलामा हाइड्रोजन भरिएको बेलुनको झुप्पोनजिकै लगेर उडाउने क्रममा बेलुन पड्किँदा कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेल र कार्यक्रम आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा केही दिनको उपचारपछि उनीहरू घर फर्किसकेका छन् । आयोजकले कार्यक्रममा तामझाम गर्न खोज्दा यो घटना घटेको हो । अत्यन्तै प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनलाई फायर क्यान्डिलको झिल्का उठिरहेको अवस्थामा नजिक लैजान हुँदैन भन्ने सामान्य ज्ञान समेत नदेखिनु आयोजकको लापरवाही हो ।
हाइड्रोजन ग्यास ब्रम्हाण्डमा पाइने सबैभन्दा हलुका र प्रज्वलनशील ग्यास हो, यो ग्यास भरिएको बेलुन तातो हुँदा पनि जल्ने गर्छ । बेलुनमा भरेर उडाउन पर्ने अवस्थामा हिलियम ग्यासको पनि प्रयोग गर्नुपर्छ । हिलियम ग्यास हाइड्रोजन जस्तो प्रज्वलनशील हुँदैन, तर हाइड्रोजनको तुलनामा हिलियम ग्यास महँगो पर्ने भएकाले बेलुनमा हावा भर्दा धेरैले हाइड्रोजन ग्यास भर्ने गरेका छन् । उक्त घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको आठ सदस्यीय समितिले आफ्नो काम जारी राखेको छ । गृहमन्त्री रमेश लेखकले अघिल्लो आइतबार मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य छन् । समितिको सदस्यसचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एकजना विष्फोटक पदार्थ विज्ञसमेत रहेका छन् । बेलुन विस्फोट घटनाको के कसरी भयो भन्नेबारे विस्तृत छानबिन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा अवलम्वन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया