प्रकृतिको अनुपम नमुनाको रूपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी धर्मावलम्बीहरूको साझा बसोवास रहेको एउटा स्थानीय तह हो, सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लामा अवस्थित शैल्यशिखर नगरपालिका । साविकका गोकुलेश्वर, वोहरीगाउँ, ग्वानी, देथला, शिखर र रानीशिखर गरी ६ वटा गाविस साविकलाई मिलाएर २०७३ फागुन २७ मा स्थापना भएको हो यस नगरपालिका ।
हिन्दुहरूको मुख्य एवं पवित्र धार्मिक तीर्थस्थल जगतपुरी शिवधामको प्रवेशद्वारको रूपमा बैतडी जिल्लासँग सिमाना जोडिइए चौलानी नदीको किनारमा अवस्थित छ यस नगरपालिका । यस नगरपालिकाको पूर्वमा मार्मा गाउँपालिका, पश्चिममा लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिका उत्तरमा नौगाड गाउँपालिका र महाकाली नगरपालिका दक्षिणमा दार्चुला र बैतडी जिल्लाको सिमानामा रहेको चमेलिया नदीसँग बैतडी जिल्ला सिमाना जोडिएको छ । कुल क्षेत्रफल ११७ दशमलज ८१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस शैल्यशिखर नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्रदेखि नदी किनारामा रहेका फाँटहरूलाई समेटेर बनेको छ । धार्मिक एवं सांस्कृतिक शक्तिपीठहरू मौलिक सांस्कृतिक, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले शैल्यशिखर नगरपालिकाले पर्यटनको प्रचुर सम्भावना बोकेको छ ।
दार्चुला जिल्लाको सदरमुकामपछिको दोस्रो ठूलो सहरको रूपमा चिनिने गरिन्छ, यस नगरपालिकालाई । नगरको भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै सहभागितात्मक योजना तर्जुमा पद्धतिलाई सबल बनाउँदै सन्तुलित विकासको बाटोमा अगाडि बढिरहेको छ यस नगरपालिका । नगरपालिकालाई विकासका दृष्टिले नमुना बनाउन यस नगरका जनप्रतिनिधिहरू दत्तचित्तका साथ अगाडि बढेका छन् ।
नगरपालिकाभित्रको कृषियोग्य जमिन पहिचान र संरक्षण गर्दै कृषि उत्पादन क्षेत्रको वर्गीकरण तथा विशिष्टीकरणमार्फत नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति तय गर्दै आएको छ यस स्थानीय तहले । मेयरसँग कृषि कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक रूपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान, सबै किसानलाई उत्पादनमा आधारित अनुदानको नीति अवलम्बन गर्दै आएको छ यस नगरपालिकाले । जसबाट धेरै किसानहरू लाभान्वित समेत भइरहेका छन् । नगरभित्र आवश्यकताअनुसार सिँचाइ व्यवस्थापनका लागि बहुउपयोगी सिँचाइ पोखरीहरू निर्माण गर्ने कार्यलाई यस नगरपालिकाले निरन्तरता दिइरहेको छ ।
आधारभूत स्वास्थ्यसेवामा सबै नगरवासीको पहुँच सुनिश्चित गर्न यस नगरपालिकाले स्वास्थ्य बिमा कार्यक्रमको प्रचारप्रसारलाई व्यापकता प्रदान गर्दै स्वास्थ्य संस्थाहरूको पूर्वाधार विकासमा सहयोग पु¥याउँदै आएको छ । गोकुलेश्वरमा रहेको एक मात्र अस्पतालको भौतिक तथा व्यवस्थापकीय सुधारका लागि प्रदेशलगायत अन्य पालिकासँग समेत समन्वय गरी अगाडि बढेको छ यस नगरपालिका । पालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस शैल्यशिखर नगरपालिकाले प्रशस्तै कामहरू गरेको छ ।
नगरपालिकाभित्र रहेका ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदाहरूको अभिलेखीकरण, प्रवद्र्धन समेत गर्दै आएको छ यस नगरपालिकाले । चमेलिया जलविद्युत् आयोजनालाई विद्युत् हबको रूपमा प्रचारप्रसार गरी पर्यटकहरूको व्यवस्थापनमा सहयोग गर्ने नीति अवलम्बन गरेको छ । नगरभित्रका धार्मिकस्थलहरूलाई व्यवस्थित गरी आकर्षणको केन्द्र बनाउन आवश्यक भौतिक सुधारमा समेत यस नगरपालिका लागेको छ । परम्परागत चाडपर्वहरू, मालिकार्जुन देवपूजन जात्रा, गौरा, चैतालो, भेटौलो, तिज, नरहरि, गोकुलेश्वर मेलाजस्ता सामाजिक सद्भाव र एकता कायम गर्ने पर्वहरूको संरक्षणका लागि यस स्थानीय तहले सहयोग गर्दै आएको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिने शैल्यशिखर धाम पनि यसै नगरपालिकामा पर्दछ । जहाँ प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी र कात्तिक शुक्ल त्रयोदशीमा शिखर पूजन जात्रा लाग्ने गर्दछ ।
यस नगरपालिकाले आवश्यकताका आधारमा नयाँ सडक निर्माणका साथै विगतमा निर्माण गरिएका सडकहरूको मर्मत सुधारलाई विशेष महत्व दिँदै आएको छ । पक्की सडक निर्माण कार्यमा लागत साझेदारी अवधारणालाई निरन्तरता दिँदै आएको छ । उपमेयरसँग दिदीबहिनी कार्यक्रम आर्थिक सशक्तीकरण तथा व्यावसायिक प्रवद्र्धनको कार्यक्रम सञ्चालन गर्दै आएको छ यस नगरपालिकाले । यसबाट आर्थिक, व्यावसायिक, उत्पादनमूलक तथा सीपमूलक क्रियाकलापहरूमार्फत सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउने कार्यमा ठूलो टेवा पुगेको छ । विकास निर्माणका साथै सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ यस नगरपालिकाले । यस शैल्यशिखर नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणाअनुसार अगाडि बढेकै कारण सुदूरपश्चिम प्रदेशकै एउटा नमुना नगरको रूपमा विकास हुँदै गइरहेको छ ।
प्रतिक्रिया