काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षीय नेताहरूको बैठक अहिले बसिरहेको छ । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा उनी पक्षीय नेताहरू सहभागी छन् ।
बैठकमा डा.कोइराला, डा.मिनेन्द्र रिजाल, सहमहामन्त्री जीवन परियार, सरिता प्रसाईं, सञ्जय गौतमसहितका नेताहरू सहभागी छन् ।
बैठकमा पार्टी महाधिवेशन र समसामयिक राजीनितिक विषयमा कुराकानी भइरहेको जनाइएको छ । यसअघि नेता डा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई ०८४ को चुनावपछिको महाधिवेशन स्वीकार्य नहुने चेतावनी दिएका थिए ।
प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले महाधिवेशन समयमै गराउने वातावरण बनाउनको लागि दबाब दिनको लागि आफू निकट नेता कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा नेता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका थिए । उनले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शङ्का नरहेको भन्दै सजाय पाउनुपर्ने बताए । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लङ्घनबारे सरकार पन्छिन नमिल्ने उनले बताए । मानव अधिकारका कुरा नबुझ्नेहरू कांग्रेसी नहुने उनको तर्क छ । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने उनले बताए । सांसद कोइरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताए ।
प्रतिक्रिया