देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानडामा अवतरणका क्रममा जहाज पल्टियो, १८ जना घाइते

देशान्तर

काठमाडौं । क्यानडाको टोरन्टोको पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाज पल्टिएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो डेल्टा एयरलाइन्सको जहाज अवतरणका क्रममा विमानस्थलमा पल्टिएको हो ।

क्यानडेली सञ्चारमाध्यम सीबीसीका अनुसार दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेको सीबीसीले जनाएको छ ।

अमेरिकाको मिनेसोटाबाट उडान भरेको उक्त जहाज अवतरणका क्रममा पल्टिएको हो । के कारणले दुर्घटना भयो भन्नेबारे अहिलेसम्म केही नखुलेकोसमेत समाचारमा जनाइएको छ ।

जहाजमा रहेका यात्रुहरूले एक्कासि अवतरण गरिएको बताएका छन् । जहाज पल्टिएपछि केही भागमा आगोसमेत लागेको थियो । तर तत्काल आगो निभाइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । जहाजबाट मानिसहरू निस्कँदै गरेको भिडियोसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

पियर्सन विमानस्थलका हवाई यातायात नियन्त्रण टावरको अडियो रेकर्डअनुसार डेल्टा एयरलाइन्सलाई दिउँसो २ बजे अवतरणका लागि अनुमति दिइएको थियो ।

क्यानडियन प्रेसको एक रिपोर्टअनुसार टावरले पाइलटहरूलाई एक विमानको ‘ग्लाइड पाथ’मा सम्भावित वायुप्रवाहको ‘टक्कर’का बारेमा चेतावनी दिएको थियो । त्यसपछि टावर र पाइलटहरूबीच कुराकानी नभएको पनि सीबीसीले जनाएको छ ।