काठमाडौं ५ फागुन २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताले विकासको ढोका खोलेको बताएका छन् । उनले विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड पनि दिएका छन् ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै पवित्र भूमि लुम्बिनीमा उपस्थित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए । उनले भगवान् गौतम बुद्धको जन्मस्थल तथा अन्य ऐतिहासिक र धार्मिकस्थलहरूले यो प्रदेशलाई विशेष बनाएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताए । सङ्घीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उनको भनाइ छ । हालै निर्माणसम्पन्न अन्तरराष्ट्रिय विमानस्थल, फराकिलो सडक तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकका रूपमा व्याख्या गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । साथै, सिद्धबाबा सुरूङ मार्गलगायत योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर–कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराए ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । “यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन”, उनले भने ।सिँचाइ आयोजना सफल बनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उनले जोड दिए । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले एक हजार २०० शैय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरू गरेकामा प्रशंसा व्यक्त गरे । स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरेर मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने प्रधानमन्त्रीको विश्वास छ । प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले भने , “मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन् । अरूले बनाएको चीज हो । डेटा अन्त जान्छ । प्रविधिको धेरै विकास भएको छ । ठीक सदुपयोग गर्न सक्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेकामा जोड दिए । “हामी सबैले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सक्छौँ”, उनले भने । प्रदेशहरूले कानुनी संरचना निर्माण गर्दा सङ्घीय सरकारद्वारा स्थापित मौजुदा कानुनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड दिए ।
प्रतिक्रिया