देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेखर–गगनको घोषणाले संस्थापनमा छटपटी

देशान्तर


देशान्तर विशेष संवाददाता
काठमाडौं । देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा तयारी शून्यजस्तै भए पनि सभापतिको उम्मेदवारी घोषणाले भने हिउँदको अन्तिम महिनाको चिसोमा १५ औँ महाधिवेशनको तापक्रम बढाएको छ । झन्डै १ वर्षदेखि इतर पक्षका महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा आफ्ना समर्थकका साथ देश दौडाहा र छुट्टै कार्यक्रमहरू गर्दै हिँड्नाले संस्थापन पक्षका केही प्रभावशाली नेतासमेत जोडिन थालेकाले वर्तमान सभापति शेरबहादुर देउवा वैधानिक व्यवस्था अनुसार १५ औँ महाधिवेशनमा नउठ्ने सार्वजनिक घोषणा गरिसकेकोले पनि यो समूहको छटपटीलाई स्वाभाविक रूपमा लिइएको छ । तर, सभापति देउवाले पहल नगरी उनलाई १३ औँ अधिवेशनमा दोस्रो पटक सघाएका र १४ औँ अधिवेशनमा आफू निकटलाई सभापति देउवाको समूहमा उम्मेदवारी दिएर सघाएका पूर्व महामन्त्री एवं राष्ट्रिय सभाका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चासो राखेर समूहको बैठकको संयोजन गर्नुलाई देउवा पक्षकै नेताहरूले नै सहज रूपमा नलिएको एक पूर्व पदाधिकारीले देशान्तरलाई बताए ।

नेपाली कांग्रेसको विधानमा कार्यसमितिको कार्यकाल ४ वर्षको हुने उल्लेख गरिएको छ । ४ वर्ष पुग्दै गर्दा १ वर्ष थप गर्न सकिने अर्को व्यवस्था छ भने नेपालको संविधान २०७२ अनुसार कम्तीमा साढे ५ वर्षमा राजनीतिक दलहरूको अधिवेशन हुनुपर्ने र त्यसको अपडेट निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यसरी एउटा पार्टीका कार्यसमितिका पदाधिकारी र सदस्यहरुको कार्यकाल बढीमा साढे ५ वर्ष हुन्छ भन्ने कल्पना गरिएको हो । नेपाली कांग्रेसले विधानमा ४ वर्ष उल्लेख गरे पनि केन्द्रीय कार्यसमितिबाट निर्णय गराएर १ वर्ष थप्ने परम्पराजस्तै भइसकेको छ । ४ वर्षको कार्यकाललाई मान्ने हो भने २०८२ मंसिरमा पूरा हुन्छ । वर्तमान सभापति शेरबहादुर देउवा लगातार २ कार्यकाल सभापति भइसकेकाले तेस्रोपटक प्रतिस्पर्धा नै गर्न पाउँदैनन् । त्यसैले सभापति देउवा जसरी पनि आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा छन् भने संस्थापन इतरपक्ष डा. शेखर कोइराला र गगन थापाले भने समयमै २०८२ मंसिरभित्र अधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् ।


डा. शेखरले सभापतिमा प्रतिस्पर्धा गर्ने बताइसकेका छन् भने महामन्त्री गगनले पनि सभापतिमै उम्मेदवारी दिने चर्चा व्यापक छ । शेखर र गगनले महाधिवेशन जसरी पनि ४ बर्षे कार्यकालमा हुनुपर्ने बताइरहेका बेला संस्थापन पक्ष भने अलि पर धकेल्ने ध्याउन्नमा लागेको छ । पार्टीको अधिवेशनको मिति नतोकिए पनि २०८१ चैत मसान्तभित्र सदस्यता टुंग्याउने र त्यसकै आधारमा अधिवेशनमा जाने तयारी गरिएकाले नेतृत्वका आंकक्षीहरू अहिलेदेखि नै सलबलाउन थालेको राजनीतिक विश्लेषकहरूले देशान्तरलाई बताए । १४ औं महाधिवेशनमा संस्थापनक्ष एक ढिक्का भएका बेला इतरपक्षमा रहेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्व गर्न नसक्दा जसरी तितरवितर भएको थियो अहिले संस्थापनपक्षको हालत त्यस्तै देखा पर्न थालेको छ । विगतको अधिवेशनमा सभापतिमा देउवालाई सघाएका ११ भाइहरूले शुक्रबार उनकै निवास बूढानीलकण्ठमा पुगेर उत्तराधिकारी तोक्न दबाब दिएका छन् । कृष्ण सिटौलाको नेतृत्वमा पुगेका ११ जनाले समसामयिक राजनीतिक कुराहरू गर्न भने पनि खास उद्देश्य थियो देउवाको उत्तराधिकारीका लागि पहल गर्ने । देउवाले सबैका कुरा सुने पनि मौन बसेर उत्तराधिकारी तोक्ने कुरा टारिदिएका छन् । ‘समय आउँदा सल्लाह गरेर निर्णय लिन्छु’ भन्ने जवाफ दिएका थिए ।


सिटौलाले यसको पहल लिए पनि उनीसँग अहिले कति व्यक्ति छन् भन्ने पनि राजनीतिक वृत्तमा चर्चा छ । १३ औँ महाधिवेशनमा उनको समूहबाट महामन्त्री लडेका गगन थापा १४ औँ महाधिवेशनका बेला शेखर समूहबाट प्रतिस्पर्धामा उत्रिएर अहिले हर्ताकर्ता भइसकेका छन् भने १४ औँ महाधिवेशनमा सिटौला समूहबाट गएर सभापति देउवा प्यानलबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएर पराजित भए पनि अहिलेको सरकारका चर्चित मन्त्री प्रदीप पौडेलले पनि सिटौलाको साथ छोडी सकेका छैन । यसैगरी प्रकाशमान सिंह र विमलेन्द्र निधि १४ औँ महाधिवेशनमा आफै सभापतिको प्रतिस्पर्धा गरेर दोस्रो चरणमा देउवालाई सघाएका थिए । बूढानीलकण्ठ जाने टोलीमा सिटौलासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान सिंह, शशांक कोइराला, पूर्णबहादुर खड्का, विजय गच्छदार, प्रकाशशरण महत, एनपी साउद, उमाकान्त चौधरी र बालकृष्ण खाण सामेल थिए । नेताहरूले महाधिवेशनको तयारी, संस्थापन पक्षको एकता, र पोखरामा सभापतिको भेलामा पूर्वपदाधिकारी र वरिष्ठ नेताहरूसँग छलफल नगरेको विषयमा प्रश्न गरेका थिए ।


सतहमा जे देखिए पनि १५औँ महाधिवेशनको तयारी अघि नबढाए पनि महामन्त्री गगन थापाले महाधिवेशन केन्द्रित अभियान अघि बढाएको भन्दै देउवा पक्षका नेताहरूले आपत्ति जनाएका हुन् । छलफलको क्रममा उपसभापति पूर्णबहादुर खड्का ‘स्वर बसेको छ’ भन्दै केही समयमै बाहिरिएका थिए । त्यसपछि नेता कृष्णप्रसाद सिटौलाले बोले । ‘पार्टीको कार्यक्रम र घोषणा एकातिर छ । तर, १५औं महाधिवेशनबारे पदाधिकारीहरू एकातर्फ देश दौडाहामा लागेका छन्,’ गगन थापाको नाम नलिई उनले भने, ‘पदाधिकारीहरू यसरी महाधिवेशन लक्षित कार्यक्रम अघि बढाउँदा तपाईंको धारणा के हो?’ पछिल्लो समय गगन थापाले सभापति देउवासँग राम्रो सम्बन्ध बनाएको देखिएपछि देउवा पक्षीय नेताहरू सशंकित भएका छन् । एमसीसी, बीआरआई, अध्यादेशजस्ता विषयमा सरकारलाई सहज बनाउने कार्यदलमा गगनको प्रभाव देखिएको थियो । यी गतिविधिले देउवा पक्षलाई असहज बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।