देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रातृ संस्थालाई महाधिवेशनको चटारो

देशान्तर


काठमाडौं । पटक पटक म्याद थप गर्दा पनि तदर्थ वादमा चल्दै आएको सत्तारूढ नेपाली कांग्रेसका भ्रातृ सङ्गठनहरूको म्याद अब चैत मसान्त पछि थप नगर्ने र चैत मसान्तभित्रै जसरी पनि गर्न पार्टीले निर्देशन दिएपछि बल्ल कांग्रेसका भातृ सङ्गठनहरूलाई महाधिवेशनको चटारो लागेको छ ।
असारमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले कार्यादेशसमेत तय गरेर भातृसंस्थाहरू नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान महासंंघ, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, दलित संघ, लोकतान्त्रिक अपांग संघ, ठाकुर समाज, थारू संघ र लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन सुनिश्चित गर्न निर्देशन समिति बनाउने निर्णय गरेको थियो भने गत बिहीबार सानेपामा कांग्रेसका पदाधिकारी र भ्रातृसंस्थाका निर्देशक समिति संयोजकबिच प्रगतीका बारेमा भएको छलफलपछि महाधिवेशन चैत मसान्तभित्रै जसरी पनि गर्न पार्टीले निर्देशन दिएको हो । चैत मसान्तभित्र भातृसंस्थाहरूको महाधिवेशन गराउन कांग्रेसले पार्टी केन्द्रबाटै सहजीकरण पनि गरिरहेको छ ।


कांग्रेसका १३ भातृ संगठनमध्ये निर्वाचित समिति दुईवटा मात्र छन् भने अन्य सबैमा तदर्थ समिति छ । नेपाल विद्यार्थी संघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । हाल दुजाङ शेर्पाको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति क्रियाशिल छ । त्यसैगरी नेपाल तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । विद्वान गुरुङ केन्द्रीय तदर्थ समितिको अध्यक्ष छन् । नेपाल महिला संघको पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन । उषा राउत मिश्र तदर्थ समितिकी अध्यक्ष छिन् । नेपाल प्रजातन्त्र सेनानी संघको २०६४ को महाधिवेशन पछि अर्को महाधिवेशन हुन सकेको छैन् । हाल बालकृष्ण दाहालको अध्यक्षतामा सेनानी संघको तदर्थ समिति छ । नेपाल किसान महासंंघको पनि २०६४ पछि महाधिवेशन हुन सकेको छैन । गणेशचन्द्र तिमल्सिनाको संयोजकत्वमा किसान महासंघको तदर्थ समिति छ । नेपाल दलित संघको २०६९ पछि महाधिवेशन हुन सकेको छैन अध्यक्षको जिम्मेवारी लोकबहादुर विश्वकर्मा रहेका छन् । यसैगरी नेपाल भूतपूर्व सैनिक संघको पनि २०७३ पछि महाधिवेशन भएको छैन भने मेघराज टण्डन तदर्थ समितिका अध्यक्ष रहेका छन् ।

यता २०५५ सालमा स्थापना भएको आदिवासी जनजाति संघले भने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ हुँदै गत असारमा पहिलो अधिवेशन सम्पन्न गरेको थियो । आदिवासी जनजाति संघको संस्थापक अध्यक्ष सूर्यमान गुरुङ र उनीपछि नेतृत्व सम्हालेका आइबी गुरुङले अधिवेशन गराउन सकेका थिएनन् । पार्टीले ओमबहादुर घर्तीमगरलाई तदर्थ समितिको अध्यक्ष बनाएको थियो । महासंघले निर्वाचन नगरी सर्वसम्मत तदर्थ समितिका अध्यक्षलाई दोहो¥याउने निर्णय गरेको थियो । यसैगरी नेपाल मुस्लिम संघले गत बर्ष असोजमा महाधिवेशन सम्पन्न गरि निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित अताबुल मन्सुरीको नेतृत्वमा काम गरिरहेको छ ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पनि अधिवेशन पनि १५ बर्ष देखि भएको छैन् । अहिलेसम्म प्रकाश पन्थको अध्यक्षतामा तदर्थ समिति यथावत छ । नेपाल ठाकुर समाजमा अनिरुद्रप्रसाद ठाकुरको संयोजकत्वमा तदर्थ समिति रहेको छ । २०७९मा कांग्रेसको नयाँ भ्रातृ संस्थाको मान्यता पाएको नेपाल थारू संघमा शिवनारायण महतो गुरौको अध्यक्षतामा तदर्थ कार्यसमिति छ । अर्को नयाँ भ्रातृ संस्थाको मान्यता पाएको नेपाल लोकतान्त्रिक खेलकुद संघमा देवेन्द्रकुमार शेरचनको अध्यक्षमा तदर्थ कार्यसमिति रहेको छ ।
विधानको व्यवस्थाअनुसार महाधिवेशन गराउन असफल भ्रातृ संगठनलाई महाधिवेशन गर्न दबाब दिनुको साटो पार्टीले नै तदर्थ समिति गठन गर्ने परम्परा कांग्रेसमा हाबी हुँदै आएको र यसले गर्दा कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठन प्रभावहीन बन्न पुगेको आलोचना खेप्दै आएको मूल पार्टीले चैत मसान्तभित्रै जसरी पनि गर्न पार्टीले निर्देशन दिए पछि तदर्थ समितिमा रहेका नेतृत्वले महाधिबेशनको तयारी थालेको जनाएका छन् । महाधिवेशन गराउने जिम्मा पाएका नेताहरुले पनि तोकेकै समयमा महाधिवेशन गर्न आफूहरूले सक्दो समन्वय गर्ने बताएका छन् ।