देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्रीको दाबी

देशान्तर

काठमाडौँ । सत्ता गठबन्धनलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र  सत्ता गठबन्धनमा रहेर सरकारमा सामेल लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) नेपालले सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिने निर्णय गरेपछि राष्ट्रिय सभामा बहुमतको सकसमा परेको सरकार सकेसम्म गठबन्धनलाई समर्थन गरेको र गठबन्धनमै रहेका दल भित्रैबाट बहुमतले अध्यादेश पास गराउने अन्यथा ट्रयाक टु मा गएर भए पनि अध्यादेश पास गराउने गरी अघि बढेका बेला शनिवार महन्थ ठाकुर समेत उपस्थित बालुवाटारमा बसेको सत्तारुढ दलहरूको शीर्ष नेताहरूको बैठकले भने  सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति गरेको छ । 

बालुवाटारमा बसेको बैठकमा सबै दलहरूसँग छलफल गरेर अध्यादेश ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति भएको गृहमन्त्री रमेश लेखकले सञ्चार कर्मीलाई जानकारी दिएका छन् । उनले सत्ता गठबन्धनसँग बहुमत पुग्ने गरी छलफल भएको बताए ।

उनले भूमि अध्यादेश पनि प्रतिस्थापन गर्दा सबैले आपसमा छलफल गरेर अघि बढ्ने लोसपा अध्यक्ष महन्थ ठाकुर आफैँ बैठकमा सहभागी भएको र जसपा नेपालसँग पनि कुरा भएर अध्यादेश अघि बढाउने सहमति भएको दाबी गरेका छन् । छलफलका क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवलाई बालुवाटारबाट फोनमा कुराकानी भएको लेखकले जानकारी दिएका छन् ।   

उनले दुवै जना काठमाडौँ बाहिर भएकाले बैठकमा उपस्थित हुन नपाएको र फोन वार्तामा सहमति भइसकेकाले अब अध्यादेश अघि बढ्ने बताए । 

बैठकमा प्रधानमन्त्री एवं एमाले का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपा अध्यक्ष महन्थ ठाकुर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रम मन्त्री शरदसिंह भण्डारी पनि सहभागी थिए । 

गठबन्धन भित्र सहमति हुन नसकेको खण्डमा गठबन्धन बाहिरको नेकपा समाजवादी पार्टीको सहयोग लिने गरी  विशेष गरी नेपाली काँग्रेसले पहल थालिसकेको अवस्थामा गठबन्धन भित्रै सहमति बनेको लेखकले दाबी गरेका हुन् । 

शुक्रवार  नेपाली काँग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल  गर्दै एकीकृत समाजवादीलाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय काँग्रेसले गरेको थियो  । 

अध्यादेश आउँदा राष्ट्रिय सभामा निर्णायक बन्न पुगेको जसपाले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेर बार्गेनिङ पावर बढाई रहेका बेला लोसपाले पनि जसपा सँगै चोचोमोचो मिलाए पछि काँग्रेसले एकीकृत समाजवादीबाट सहयोगको लागि पहल गर्ने निर्णय गरेको थियो । 

काँग्रेस संस्थापनका नेताहरूको छलफलमा अध्यादेश ल्याएर नेकपा एस विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयासमा काँग्रेसले साथ नदिएर माधव नेपालले गरेको आग्रह मानेको भन्दै त्यसको बदलामा अब नेकपा एसले काँग्रेसको प्रस्ताव मान्नुपर्ने तर्क उठेको थियो । 

सरकारले ल्याएको अध्यादेशको विपक्षमा उभिएपछि गठबन्धनमा रहेको दल लोसपा नैतिक सङ्कटमा परेको थियो भने लोसपाका मन्त्री शरत सिंह भण्डारीको पद धरापमा परेको थियो  । यस अघि लोसपाले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेर पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन तयार रहन निर्देशन  समेत दिई सकेको थियो । तर शनिवारको बैठकमा सहमति जुटेको गठबन्धनका नेताहरूको दाबी छ ।