काठमाडौँ । विश्व रेडियो दिवसका अवसरमा ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले रेडियो हिजो आज र भोली विषयक एक दिने अन्तर्क्रिया सम्पन्न गरेको छ । काठमाडौमा आयोजित अन्तर्क्रियामा बोल्ने वक्ताहरूले रेडियोको उपादेयता जहिले पनि रहिरहने तर यसका श्रोताहरू भने बदलिरहने भएकाले श्रोताको चाहना अनुसारका सामग्रीहरू रेडियोले उत्पादन र प्रसारण गर्नु पर्ने बताए । वक्ताहरूले लोकतन्त्र र गणतन्त्र स्थापनामा नेपालका रेडियोहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै समाज रूपान्तरणमा रेडियोको योगदान उच्च रहेको बताए ।
बानका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको अन्तर्क्रियामा बोल्दै देशान्तर मिडिया प्रालि अध्यक्ष एवं बानका सल्लाहकार कबिर राणाले २०७२ सालको भूकम्पको समय स्मरण गर्दै त्यति बेला सूचना प्रवाहमा रेडियोहरू प्रभावकारी भएको बताए । त्यस्तै उनले पछिल्लो समयको कोभिडको महामारीमा अनलाइन माध्यम प्रभावकारी भएको भन्दै रेडियोहरूलाई पनि डिजिटलाइज्ड गर्दै लैजानु पर्ने बताए । उनले लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम रेडियो भएको बताए ।
बानका अध्यक्ष भट्टराईले पछिल्लो समय ब्यबसायिक रेडियो पत्रकारिताको विकास भए पनि रेडियो सञ्चालकहरूलाई दिगोरुपमा सञ्चालन गर्न कठिनाइ पर्दै गएको भन्दै रेडियोहरूलाई जोगाउन राज्यले नीतिगत रूपमै पहल गर्नु पर्ने आवश्यकता औँल्याए । रेडियो सञ्चालनमा देखिएका अफ्टयाराहरुलाई राज्यले सहज बनाउँदै लैजान ढिला गर्न नहुने बताए ।
यस्तै बानका महासचिव नविनबाबु राईले सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा रेडियो धेरै प्रभावकारी रहेको भन्दै रेडियोले आम नागरिकको दैनिकीमा समेत परिवर्तन गर्न भूमिका खेलेको बताए । साथै उनले प्रजातन्त्र दिवसका दिन देखि बान सदस्य रेडियोहरूमा विशेष कार्यक्रमका साथ जोडिन लागेको जानकारी दिए । यस्का लागि कार्यक्रम उत्पादन सहितको प्राविधिक तयारीमा बान लागेको उनले जनाकारी दिए । अन्तर्क्रियाको सहजीकरण पत्रकार एवं प्रसिद्ध गीतकार लोकराज अधिकारीले गरेका थिए ।

रेडियो दिवस आज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर मनाइँदै छ । सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो । रेडियो आमसञ्चारको सशक्त माध्यम हो ।
प्रतिक्रिया