देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेट

देशान्तर


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डिपीआर चाँडो सकेर आयोजना अघि बढाउने सहमति भएको थियो । सो क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्नेछन् ।


यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।