काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा आज जारी गरेका शुभकामना सन्देशमा उनले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताएका छन् ।
सशस्त्र सङ्घर्षका कारण आज मुलुकमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको उल्लेख गरेका छन् । यसुैबीच प्रचण्डले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३०औँ ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले जोड दिए । जनयुद्धमाथि अझै पनि प्रहार भइरहेको उनको भनाइ थियो ।
प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको उनले बताए । उनले प्रतिक्रियावादी शक्तिले गणतन्त्रलाई जनताको हुन नदिन अनेक गतिविधि गरिरहेको आरोप लगाए ।
यता पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले जुँगाको लडाई छाडेर फागुन १ लाई जनक्रान्ति दिवस मनाउन प्रस्ताव गरेका छन् । माओवादीले फागुन १ लाई जनयुद्ध दिवस मनाइरहेका बेला पूर्वमाओवादी नेता भट्टराईले फागुन १ लाई जनक्रान्ति दिवस मनाउन प्रस्ताव गरेका हुन् ।
उनले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२÷६२ सालको सशस्त्र जनयुद्ध, २०६२÷६३ सालको संयुक्त जनआन्दोलन, मधेस विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई जोड्न पनि सुझाव दिएका छन् ।
प्रतिक्रिया