काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जनताको निराशा चिर्दै भ्रष्टाचारको विरुद्ध खरो उत्रिएर अख्तियारले सबै प्रकारका भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले साना भ्रष्टाचारका घटनालाई छानबिन र कारबाही गरी मुद्दाको संख्या मात्र बढाउने नभई ठुला र सबै प्रकारका भ्रष्टाचारी माछाहरू समात्न सक्नुपर्ने बताए । अख्तियारको प्रगति झिनो देखिएको र उक्त विषयमा गम्भीर हुनुपर्ने उनको भनाई छ । उनका अनुसार कार्य सम्पादनमा देखिएको सुस्तताले युवाहरूमा निराशा बढाइरहेको छ ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार देश विकास र समृद्धिको वाधक भएको बताए । भ्रष्टाचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पुर्याउने उनले बताए । पछिल्लो समय देशमा नीतिगत भ्रष्टाचार र काम चोरी बढेको उनको भनाई छ । भ्रष्टाचारको अङ्क दिनप्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उनको भनाई छ ।

प्रतिक्रिया