नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही फागुन २ गते तय भएको ३१औं वार्षिक साधारणसभा तथा निर्वाचन करिब चार महिनापछि २०८२ असार १७ गते गर्ने निर्णय गरिएको छ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले राजनीतिक दबावका कारण निर्वाचन सारिएको बताए। केही व्यवसायिक संस्थाहरूको विवाद राजनीतिक नेतृत्वसम्म पुगेपछि नेतृत्वले मिलाउन समय मागेकाले अन्तिम समयमा निर्वाचन सारिएको उनले जनाए।
संघका महासचिव मेघनाथ भुर्तेलले संघको स्थापना दिवस असार १७ मै पर्ने भएकाले तथा व्यवसायीहरूका मुद्दा, सदस्य संख्या सम्बन्धी माग सम्बोधन, भवन सम्बन्धी विषय, र व्यवसायीहरूको माग अनुसार निर्वाचन सार्ने निर्णय गरिएको बताए। उनले निर्वाचन नभएसम्म यही कार्यसमितिले काम गर्ने बताउँदै संघको निर्वाचन मिति सारिएको जानकारी जिल्ला प्रशासन कार्यालयमा समेत गराइसकिएको उल्लेख गरे।
तर, साधारणसभा तथा निर्वाचनको निर्धारित मिति नजिकिँदै गर्दा तथा चुनावी प्रक्रिया अघि बढिसकेको अवस्थामा एकाएक निर्वाचन सार्ने निर्णय हुँदा धेरै व्यवसायीहरूले उक्त निर्णयमा तीव्र विरोध जनाएका छन्। निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, माओवादी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संघमा ज्ञापनपत्र बुझाएका छन्।
यी संस्थाहरूले निर्वाचन मिति सार्ने निर्णय उम्मेदवार छनोटमा देखिएको विवाद तथा संघ निर्वाचनको विषय उच्चस्तरीय राजनीतिक संयन्त्रणमा प्रवेश गर्नु रहेको दाबी गरेका छन्।
संघले फागुन २ गते निर्वाचन मिति तय गर्दै माघ २५ गतेसम्म सदस्यता नवीकरणका लागि सूचना निकालेको थियो, जसअनुसार करिब ८ सय मेनपावर कम्पनीहरूले सदस्यता नवीकरण गराइसकेका थिए। निर्वाचनका लागि तीन वटा प्यानल घोषणा भइसकेका थिए। लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिक एसोसिएसनले भुवनसिंह गुरुङको नेतृत्वमा प्यानल घोषणा गरेका थिए भने एसोसिएसनकै असन्तुष्ट पक्षले कुमुद खनालको नेतृत्वमा अर्को प्यानल खडा गरेका थिए। यस्तै, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नरेश गेलालको नेतृत्वमा चुनावी प्यानल घोषणा गरेका थिए।
प्रतिक्रिया