देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय-स्वास्थ्य क्षेत्रमा सराह्रनीय कार्य

देशान्तर


एकपछि अर्का राम्रा काम घोषणा गर्दै गएका सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महिलाको स्वास्थ्यमा ठूलो खतराको रूपमा देखिएको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ल्याएको ‘एचपीभी’ खोपको कार्यक्रमलाई सबैले सह्रानीय कार्यको रूपमा लिँदै संसद्मा विपक्षी दलका सांसदहरूले समेत धन्यवाद दिएबाट पुष्टि हुन्छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ बर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्यसहित सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशव्यापी एचपीभी खोप अभियान सुरु गरेर एउटा सराह्रनीय कार्य गरेको छ । नेपालमा पाठेघरको मुखको क्यान्सरको रोगभार र यसबाट हुने मृत्यु एक जनस्वास्थ्य समस्याको रूपमा रहेको अवस्थामा सरकारले यस रोगको रोकथामका लागि चलाएको खोप अभियान एक ऐतिहासिक कार्य मात्र होइन, यो हालसम्मकै ठूलो अभियान हो । यो अभियानले आगामी दिनहरूमा अनगिन्ती जीवन बचाउने क्षमता राख्छ ।

यस वर्षदेखि नै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गर्नु पनि सरकारको स्वागतयोग्य कार्य हो । जसले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि विश्वव्यापी रणनीति हासिल गर्ने नेपालको प्रतिबद्धतालाई बलियो बनाउनेछ । महिला स्वास्थ्य प्रवद्र्धनमा सरकारको यस अभियानले निकै ठूलो टेवा पु¥याउनेमा दुई मत हुन सक्दैन । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी खोपले धेरै हदसम्म रोक्न सकिन्छ । यो खोपबाट कोही किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु अहिलेको टड्कारो आवश्यकता हो । सबै योग्य किशोरीहरूले एचपीभी खोप प्राप्त गरेको सुनिश्चित गर्न प्रभावकारी सञ्चार र जागरुकताका प्रयासहरू महत्वपूर्ण पक्ष भएकाले सबै मिलेर नेपालमा पाठेघरको मुखको क्यान्सर उन्मूलनलाई यथार्थता परिणत गराउनु जरुरी छ । प्रभावकारी भएकै कारण धेरै देशले एचपीभी खोपलाई राष्ट्रिय कार्यक्रममा राखिसकेका छन् । यो अभियानलाई सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा छ । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ । एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ ।


नेपालमा पाठेघरको मुखको क्यान्सर रोग बढ्दै गएको छ । नेपालमा महिलाहरूमा हुने विभिन्न क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने पाइएको छ । नेसनल क्यान्सर रजिस्ट्री प्रोग्रामले हरेक ३÷३ वर्षमा नेपालका क्यान्सर रोग पहिचान गर्ने १२ अस्पतालहरूमा गरिने अध्ययन अनुसार महिलाहरूमा हुने क्यान्सरहरूमध्ये ठूलो हिस्सा पाठेघरको मुखको क्यान्सरले ओगटेको छ र ३५ देखि ६४ वर्ष उमेरका महिलाहरूमा धेरै छ । ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ ।

हरेक वर्ष एक हजार तीन सय १३ महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पु¥याउन तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ । जसमा १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो रोगविरुद्धको एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र यो रोगको निदान भएका महिलाहरूलाई उपचार गर्ने पर्दछन् । पाठेघरको मुखको क्यान्सर रोगबाट बच्नका लागि एचपीभी खोप नै प्रमुख उपाय हो । सुरुको अवस्थामा नै निदान भई उपचार गर्न सकिएमा यस रोगबाट बच्न सकिन्छ । यो रोगको समयमै पहिचान गर्न ३० वर्ष उमेर पुगेका महिलाहरूले प्रत्येक ५ वर्षमा पाठेघरको परीक्षण गराउनुपर्छ ।