काठमाडौं । नेपाली खेलकुलको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सात सदस्यीय कार्यसमिति बैठकले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा सहभागी भएका खेल संघहरूलाई कानुनअनुसार चल्न अन्तिम मौका दिएको छ । राखेपले एनओसीको निर्वाचनलाई अवैधानिक ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।
राखेपको ११९औँ बोर्ड बैठकले नेपाल राफ्टिङ एन्ड क्यानोइङ, बास्केटबल, आर्चरी, भलिबल, स्की, साइक्लिङ, ब्याडमिन्टन, जिम्न्यास्टिक, टेनिस, जुडो, गल्फ, तेक्वान्दो, कराँते र बक्सिङ संघलाई दुई साता अगाडि स्पष्टीकरण मागेको थियो । ती संघहरूले चित्तबुझ्दो जवाफ नदिएपछि पुनः तीन दिनको अन्तिम समयसीमा तोकिएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।
सदस्यसचिव घिसिङका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा सम्बन्धित खेल संघ वा महासंघको बैंक खाता रोक्का गर्ने, पदाधिकारीलाई वैदेशिक सहभागिताबाट प्रतिबन्ध लगाउने र सरकारी भौतिक पूर्वाधार प्रयोगमा रोक लगाउने निर्णय गरिएको छ । ‘राखेपको ०७७ को ऐनअनुसार थप तीन दिनको समय दिएका छौँ, त्यसपछि पनि चित्तबुझ्दो जवाफ नआए कारबाही अघि बढ्छ,’ घिसिङले भने । अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भन्दै राखेपले एनओसीको कुनै पनि बैठकमा सहभागी नहुन संघ तथा महासंघहरूलाई निर्देशन दिएको छ । यसका लागि राखेपले सार्वजनिक सूचना जारी गर्ने जनाएको छ । ‘अदालतबाट भएको अन्तरिम आदेश उल्लंघन गर्ने निर्वाचनलाई कानुनी मान्यता दिन सकिँदैन,’ राखेपले स्पष्ट पारेको छ ।
राखेपले एनओसी निर्वाचनमा झुटा विवरण पेस गरेको आरोपमा पाँचजनामाथि कारबाही अघि बढाउने निर्णय पनि गरेको छ । अखिल नेपाल टेबुलटेनिस संघका चतुरानन्द राजवैद्य, नेपाल उसु महासंघका लाक्पा छिरिङ लामा, नेपाल पौडी संघका अशोकरत्न बज्राचार्य, नेपाल कुस्ती संघका समिम मियाँ अन्सारी र नेपाल ह्यान्डबल संघका तेजबहादुर गुरुङले झुटो विवरण बुझाएको पाइएको छ । राखेपले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
राखेपले कारबाहीको डन्डा चलाउने भएपछि एनओसी कार्यसमितिबाट चार सदस्यले राजीनामा दिएका छन् । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा र एन्फाका सदस्य मनीष जोशीले पदबाट राजीनामा दिएका हुन् । भलिबल संघका अध्यक्ष समेत रहेका चन्दले नैतिकताका आधारमा राजीनामा दिएको जनाएका छन् भने शर्मा र जोशीले अनलाइन निर्वाचन प्रक्रियामा भाग नै लिएका थिएनन् ।
सरकार र ओलम्पिक कमिटीबीचको रस्साकस्सी चलिरहेका बेला अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाले एनओसीको निर्वाचनलाई मान्यता नदिएको र आपसी समझदारीमा समाधान खोज्न निर्देशन दिएको छ ।
प्रतिक्रिया