काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ २४ गतेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री र ठूलो दलको नेतालाई खोज्दै सुरु गरेको सम्बोधनमा एमाले र यसका प्रमुख नेता प्रधानमन्त्री केपी शर्मा ओलीको नियतमाथि आफू विश्वस्त नै रहेको भन्दै आलोचना र गरम तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसप्रति नरम सुनिए ।
प्रचण्डले आफ्नो सम्बोधनका क्रममा एक प्रसंगमा मुहान अर्थात् प्रधानमन्त्री ओलीमै समस्या रहेको दाबी गरे । ऊर्जा मन्त्रालय र मन्त्रीलाई जोडेर उठाइएको प्रसंगमा प्रचण्डले भने, ‘तर यी सबैमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरू, मूल नै फोहोर भएपछि शाखाहरू कसरी सफा हुन्छन् ?,’ यस्तै प्रचण्डले अध्यादेशहरूको औचित्यमाथि प्रश्न उठाउँदै उनले यसमा कांग्रेसको अडान जान्न चाहे भने सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा कांग्रेसको पोजिसनबारे सोध्दै प्रधानमन्त्रीको जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो भनी प्रश्न उठाए ।
उनले लिखित सम्बोधन गर्दै गठबन्धनविरोधी गनगन कहाँ गयो भन्दै स्थानीय उपचुनावमा समेत सत्तागठबन्धनले चुनावी गठबन्धन गरेको र कांग्रेसको पुरानो अडान निरर्थक रहेको तर्क गरे । प्रचण्डले संविधान संशोधनबारे पनि प्रश्न गर्दै ०८७ सालमा हुने प्रधानमन्त्रीको भनाइका सम्बन्धमा सत्ता साझेदार कांग्रेसको धारणा खोजे । यस्तै उनले आफू सरकारबाट बाहिरिएपछि भ्रष्टाचार र अनियमितताका सबै काण्डहरू सामसुम भएको र ती काण्डहरू मिलाइएको दाबी पनि गरे । प्रचण्डले माओवादी अब सत्ताको खेलमा नरहेको सम्बोधनका क्रममा बताउँदै अब विपक्षीको डरले एक अर्काका कुर्सी मिलाउन नलाग्न भन्दै उनले भने, ‘हामी सरकार बनाउनेछौँ तर आफ्नै सामथ्र्यमा । सरकारको खेलमा हामी छैनौँ, तर अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’
राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको भन्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिएको र सम्झाई–बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराउँदै कडा–कडा मुद्दा लगाइन थालिएको भन्दै यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ? भन्ने प्रश्न गरे ।
सत्ताबाट बाहिरिएपछि राज्यसत्तासँग असन्तुष्ट व्यक्ति र समूहका पक्षपाती देखिँदै आएका प्रचण्ड संसद्मा पनि त्यही रूपमा देखिएको कतिपयको टिप्पणी छ । प्रचण्डले सम्बोधनमा राजनीतिक प्रसंग सँगै उठाएका, सहकारी ठगी प्रसंग, रास्वपा सभापति रवि लामिछानेदेखि अभियन्ता आशिका तामाङसम्मको बचाउ बालेनको टिसर्ट लगाएर दरबारमार्गमा प्रधानमन्त्रीलाई हुटिङ गर्ने युवकलाई पक्राउ गरिएकोमा निन्दा, पाथिभरा केबलकारको विवाद, अन्तर्जातीय विवाहका प्रसंगलगायतका विषय सम्बोधनमा जोडेर सेन्टिमेन्ट क्यास गर्न खोजेको प्रचण्ड गनगनका रूपमा पनि धेरैले लिएको राजनीतिक वृत्तमा चर्चा छ ।
प्रतिक्रिया