देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली जन सम्पर्क समिति स्पेनद्वारा बार्सिलोनामा भाषा कक्षा सुरु

देशान्तर

मनोज बस्नेत/ स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनले हाल स्पेनको दोस्रो ठूलो सहर बार्सिलोनामा नव आगन्तुक नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्य नजर गर्दै ४० घण्टाको आधारभूत स्पेनिस भाषाको कक्षा सञ्चालन सुरु गरेको छ । 

नव आगन्तुक नेपालीहरूलाई भाषाकै कारणले निकै समस्या परेका कारणले उक्त कक्षा सञ्चालन गरेको जनसम्पर्क समिति स्पेनका सभापति सन्तोष श्रेष्ठले बताए । उनले भाषाका कारणले नै नेपालीहरूले काम खोज्न असजिलो भएकाले यो काम जन सम्पर्क समितिले गरेको जानकारी दिए ।

भाषा कक्षा बिहीबारदेखि  बार्सिलोनामा रहेको गैर आवासीय नेपाली सङ्घको कार्यालयमा सुरु भएको हो । करिब एक सय जनाको हाराहारीमा नेपालीले भाषा कक्षाका लागि नाम दर्ता गरेका छन् । 

कक्षा भौतिक उपस्थितिमा र अनलाइनमार्फत हुनेछ । भौतिक रूपमा साताको चार दिन तथा अनलाइनमा साताको दुई दिन हुने छ । भौतिक कक्षा लिनेको सङ्ख्या उल्लेख्य रहेकोले दुई समूहमा विभाजन गरेर सोमबार देखि बिहीबारसम्म दैनिक दुई घण्टाको कक्षा सञ्चालन हुनेछ । त्यस्तै हप्ताको मङ्गलवार र बिहीबार दैनिक दुई घण्टा अनलाइन कक्षा सञ्चालन हुनेछ । 

भौतिक रूपमा हुने कक्षाको शिक्षक स्पेनमा लामो समयदेखि बस्दै आएकी सङ्गीता श्रेष्ठले तथा अनलाइन कक्षा रामकृष्ण पुडासैनीले सञ्चालन गर्नेछन् । पुडासैनी  स्पेनिस भाषा सजिलै र चाँडै सिक्न सकिने पुस्तक, “EL ESPAÑOL ( एल एस्पान्योल)” का लेखक पनि हुन् । 

कार्यक्रममा जनसम्पर्क समिति स्पेनका निवर्तमान अध्यक्ष इन्द्र शर्मा, महामन्त्री विनय अधिकारी, उपसभापति शिव उपाध्याय, कार्यक्रम संयोजक यज्ञप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

निकट भविष्यमा सीपमूलक बारिस्टा, कफी म्यानेजर, वेटर, क्यासियर लगायतका तालिमहरू भाषा कक्षा पश्चात् सुरु हुनेछ ।