काठमाडौँ । प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् ।
त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् । यसैबीच सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रवार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।
पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबिचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ ।
प्रतिक्रिया