अस्ट्रेलिया । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छन् । यादवले मंगलबार राजधानी क्यानबेरास्थित गर्भनर हाउसमा आयोजना गरिएको विशेष कार्यक्रममा अस्ट्रेलियाकी गभर्नर जनरल साम ओस्टनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।
कार्यक्रममा यादवले रास्ट्रपति रामचन्द्र पौडेलको सन्देश गभर्नर जनरल ओस्टनलाई दिनुका साथै नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिएकी थिइन् । उनलाई उक्त कार्यक्रममा गार्ड अफ अनरसहित सम्मान गरिएको दूतावासले एक विज्ञप्ति जारी गरेर जनाएको छ ।
कार्यक्रममा द्विदेशीय सम्बन्ध र विश्वासलाई अझ गाढा र दिगो बनाउने विषयमा छलफल गरिएकोसमेत दूतावासले जनाएको छ । गभर्नर जनरल ओस्टनले राजदूत यादवलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा अस्ट्रेलियास्थित विदेश मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो भने क्यानबेरास्थित दूतावासका अन्य अधिकारीले सहभागिता जनाएका थिए । कार्यक्रमपछि कान्तिपुरसँग कुराकानी गर्दै राजदूत यादवले दुईदेशबीचको आपसी सम्बन्ध र सहयोगलाई वृद्धि गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने आफ्नो कार्यकालको प्रमुख उद्देश्य रहेको सुनाइन् ।
उनले अस्ट्रेलियामा रहेका नेपालीका समस्या तथा अप्ठ्यारालाई सम्बोधन गर्न यहाँका कन्सुलर सेवालाई छिटो र छरितो बनाउने बताइन् । ‘म नेपाल र यहाँका सम्पूर्ण नेपालीको राजदूतका रुपमा आएकाले यहाँ रहनुभएका नेपालीका समस्या तथा दुईदेशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन केन्द्रित हुनेछु,’ उनले भनिन् ।
यादवले आफ्नो कार्यकालमा दूतावास बनाउने कामलाईसमेत तीव्रता दिने, नेपाल तथा अस्ट्रेलियाबीच हुने भनिएको विमानसेवाको कार्यलाई अघि बढाउने र उच्चस्तरीय राजनीतिक भ्रमणको लागि पहल गर्नेतर्फ काम गर्ने बताइन् ।
प्रतिक्रिया