देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता

देशान्तर


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकासंयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उनीहरुबीचबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए । यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिएका थिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौँमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गइरहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको छ भन्दै  उनले  महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे  । 
नेपाल भ्रमणका लागि बेलायतका अधिराजकुमार एडवार्ड धर्मपत्नी सोफीसहित आजै काठमाडौँ आएका हुन् । सो भेटमा बेलायतका अधिराजकुमारका धर्मपत्नी सोफी, नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए । 

त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले भ्रमणका क्रममा हिमालमा जलवायु परिवतर्नले पारेका असरबारे बुझ्न पाउने अपेक्षा व्यक्त गरे । 

बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अधिराजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तीकरणको विषय थप सान्दर्भिक हुने धारणा व्यक्त गरे । उनले ब्रिटिस सेनामा नेपालले भर्तीको लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकको सम्बन्ध कोसेढुङ्गा रहेको उल्लेख गरे । सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरेका थिए  ।