काठमाडौं — झण्डै तीन वर्षअघि अर्थात् २०७८ फागुनबाट सुरु गरिएको ग्वार्कोको ओभरपास निर्माणको काम अहिलेसम्म सकिएको छैन । दुई वर्षभित्र सक्ने गरी ठेक्का लागेको उक्त ओभरपास निर्माणको काम एक महिनायता ठप्प छ ।
ओभरपास निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम रोकेको हो । काम रोकिँदा कोटेश्वर–कलंकी सडक खण्डको ग्वार्को अस्तव्यस्त बनेको छ ।
यसअघि पनि बर्खाको समयमा चार महिनासम्म काम रोकिएको थियो । पछिल्लो एक महिनादेखि निर्माण व्यवसायीले काम नगरेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनायो । केन्द्रका अनुसार ओभरपासको काम ठप्प पारेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेपछि काम रोकिएको हो ।
आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ओभरपासको ठेक्का लिएको हो । संयुक्त ठेक्का भए पनि काम रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।
आशिष–समानान्तर–रेलिगेर जेभीले भने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशकका कारण काम गर्ने वातावरण नभएको दाबी गरे । ‘यसअघिका आयोजना प्रमुखले गरेका काममा विश्वास नै नगरी अहिलेका प्रमुखले दोहोर्याएर काम लगाउने गरेको कम्पनीको गुनासो छ ।
ओभरपासमा अहिलेसम्म ४४ करोड खर्च भइसकेको छ भने थप १५ करोड लाग्ने अनुमान छ । ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत छ ।
प्रतिक्रिया